ललिता साह
राजविराज । । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत सप्तरीका सब–इन्जिनियर ओमप्रकाश चौधरी अझै सम्पर्कविहीन छन्। बाढी आएको शुक्रबार १० दिन पुगिसक्दा पनि उनको अवस्था अज्ञात रहँदा सप्तरीको शम्भुनाथ नगरपालिका–६, कठौनास्थित उनको परिवार आशा र निराशाबीच दिन काटिरहेको छ।
विगत चार वर्षदेखि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत चौधरी २२ दिनअघि मात्रै बिदामा घर आएका थिए। परिवारसँग केही समय बिताएर उनी फेरि काममा फर्किएका थिए। तर त्यसको केही समयमै आएको भीषण बाढीपछि उनी सम्पर्कविहीन भएका हुन्।
शुक्रबार बिहानै चौधरीको घर पुग्दा उनकी २४ वर्षीया श्रीमती निकिता चौधरी कसैसँग धेरै बोल्ने अवस्थामा थिइनन्। अनुहारमा गहिरो चिन्ता र मनमा आशा बोकेर उनी मोबाइलको स्क्रिनमा रसुवा बाढीसम्बन्धी हरेक नयाँ खबर नियालिरहेकी थिइन्।
उद्धारस्थलबाट शुक्रबार बिहानै नेपाली सेनाको विशेष उद्धार टोलीले सञ्जय साह र कबिर महर्जनलाई जीवितै उद्धार गरेको तथा टनेलभित्र रहेका अन्य व्यक्तिहरू पनि सकुशल रहेको खबर आएपछि निकिताको मनमा पनि नयाँ आशा पलाएको छ।
उनले भनिन्, “आज बिहान आएको खबरले मेरो श्रीमान् पनि सकुशल फर्किनुहुन्छ भन्ने विश्वास बढेको छ। उहाँको उद्धार भएको खबर कहिले आउला भनेर मोबाइल हेर्दै बसिरहेकी छु। एक–एक घण्टा पनि बिताउन मुस्किल भइरहेको छ।”
दुई साना बालबालिकासहित निकिता श्रीमान्को बाटो कुरिरहेकी छन्। कहिलेकाहीँ धैर्यले साथ छोड्न खोजेजस्तो लागे पनि छरछिमेकी र माइतीपक्षबाट आएका आफन्तले उनलाई निरन्तर आश्वासन दिइरहेका छन्।
“मलाई पूर्ण विश्वास छ, मेरो श्रीमान् सकुशल घर फर्किनुहुन्छ। म, मेरा दुई बच्चा र सम्पूर्ण परिवार उहाँको बाटो कुरिरहेका छौँ,” उनले भनिन्।
आँगनको गेट खुल्दा छोरा आयो कि भनेर झस्किन्छन् बुवा
ओमप्रकाशको घरभित्रको दृश्य झन् मार्मिक छ।
जस्ताको ढोका खोलेर आँगनमा प्रवेश गर्नेबित्तिकै गेटतर्फ नजर लगाएर बसिरहेका उनका वृद्ध बुवा सुनर चौधरी देखिन्छन्। कसैले गेट खोल्दा उनी एक्कासि झस्किन्छन्—सायद छोरा घर फर्कियो कि भन्ने आशामा। तर गेटबाट ओमप्रकाशको अनुहार नदेखिएपछि उनी फेरि निराश हुन्छन्।
तर छोराको प्रतीक्षामा उनका आँखा अझै थाकेका छैनन्।
ओमप्रकाशकी आमा दुःखनी देवी चौधरीलाई मोबाइल चलाउन आउँदैन। बाढी, उद्धार र बाहिरबाट आइरहेका खबरबारे पनि उनी धेरै बुझ्दिनन्। तर एउटा कुरा मात्रै बुझ्छिन्—उनको छोरा घर फर्किनुपर्छ।
उनले भावुक हुँदै भनिन्, “मलाई त मोबाइल चलाउन पनि आउँदैन। दुनियाँदारीको कुरा पनि धेरै बुझ्दिनँ। दिनरात खेतबारीमा मेहनत गरेर छोराहरूलाई पढाएँ। काम गर्न गएको छोरालाई दैवले यति कठोर परीक्षा किन लिइरहेको छ? मेरो छोरा घर फर्किनुपर्छ, म यति मात्रै बुझेकी छु।”
‘ओमप्रकाश, तिमी छिट्टै घर आऊ’
ओमप्रकाशका दाजु महिनारायण चौधरीका लागि पनि भाइबारे कसैले सोध्नु पीडादायी बनेको छ। भाइको कुरा आउँदा उनको आँखा रसाउँछ र गला अवरुद्ध हुन्छ।
उनले भने, “२२ दिनअघि मात्रै भाइ बिदामा घर आएर फेरि काममा फर्किएको थियो। अहिले भाइबुहारी, दुई साना बालबच्चा, आमा–बुवा र हामी सबै अथाह पीडाबाट गुज्रिरहेका छौँ। ओमप्रकाश, तिमी छिट्टै घर आऊ।”
शुक्रबार बिहानै त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको उद्धारस्थलबाट नेपाली सेनाको विशेष टोलीले सञ्जय साह र कबिर महर्जनलाई जीवितै उद्धार गरेको खबरले परिवारमा आशाको सञ्चार गरेको छ। टनेलभित्र रहेका व्यक्तिहरू पनि सकुशल हुन सक्ने खबर आएपछि महिनारायणलाई आफ्ना भाइको पनि जीवितै उद्धार हुने विश्वास बढेको छ।
उनले भने, “सरकारले मेरो भाइलाई पनि सकुशल उद्धार गरेर घरसम्म पुर्याउनेछ भन्ने विश्वास छ। आज भगवान् श्रीकृष्णको जन्मदिन पनि हो। भगवान्ले मेरो भाइ र हाम्रो परिवारमाथि अन्याय गर्नुहुन्न भन्ने भरोसा गरेको छु।”
सप्तरीका ५२ जना सम्पर्कविहीन
जिल्ला प्रहरी कार्यालय सप्तरीको हालसम्मको तथ्यांकअनुसार रसुवा–भोटेकोशी बाढीपछि सप्तरीका ५२ जना युवा तथा कामदार सम्पर्कविहीन भएका थिए।
तीमध्ये दुई जना पछि सम्पर्कमा आएका छन्। एक जनाको शव फेला परेको छ भने अर्का एक जनालाई शुक्रबार मात्रै जीवितै उद्धार गरिएको सप्तरी प्रहरीका प्रवक्ता हेमराज घिमिरेले जानकारी दिएका छन्।
शम्भुनाथ नगरपालिकाका मात्रै सात जना युवा कामदार अझै सम्पर्कविहीन रहेको जनाइएको छ।
उद्धारकार्यबाट पछिल्ला दिनमा जीवितै उद्धारका सुखद खबर आउन थालेपछि सप्तरीका पीडित परिवारमा पनि आशा बढेको छ। बाढी र पहिरोको चपेटामा परेका तथा टनेल र अन्य स्थानमा फसेका सबै नागरिकलाई सकुशल बाहिर निकाल्न सकिने सम्भावना बलियो बन्दै गएको भन्दै पीडित परिवारहरूले राज्यसँग उद्धारकार्यलाई थप प्रभावकारी बनाउन आग्रह गरेका छन्।
अहिले कठौनाको एउटा घरमा भने समय निकै ढिलो बगिरहेको छ। मोबाइलको स्क्रिनमा आउने हरेक नयाँ सूचना, आँगनको गेट खुल्ने हरेक आवाज र बाटोमा देखिने हरेक अपरिचित अनुहारले एउटै प्रश्न जगाउँछ—
“कतै ओमप्रकाश फर्किएर त आएनन् ?”
दसौँ दिनसम्म पनि यही आशा बोकेर उनकी श्रीमती, दुई साना छोराछोरी, वृद्ध बुवा–आमा र सम्पूर्ण परिवार उनको सकुशल घर फर्किने खबरको प्रतीक्षामा छन्।







