नयाँदिल्ली । भारतको दिल्लीमा शनिबारदेखि जारी अठारौँ ब्रिक्स शिखर सम्मेलनको आज (आइतबार) अन्तिम दिन हो। आज खुला बैठक (ओपन मिटिङ) आयोजना गरिनेछ, जसमा सदस्य देशका नेता र अन्य आमन्त्रित देशका प्रमुख सहभागी हुनेछन्।
बैठकमा ब्रिक्ससँग सम्बन्धित महत्त्वपूर्ण विषयमा छलफल हुनेछ। यसपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चार देशका नेतासँग छुट्टाछुट्टै द्विपक्षीय बैठक गर्नेछन्।
शिखर सम्मेलनको पहिलो दिन भारतले ब्रिक्स देशहरूले हाल साझा मुद्रा सिर्जना गर्ने कुनै प्रस्ताव नगरेको बतायो।
यद्यपि विदेश मन्त्रालयले स्थानीय मुद्रामा पारस्परिक व्यापार र भुक्तानी प्रवर्द्धन गर्न ब्रिक्सभित्र छलफल भइरहेको बताएको छ। यसको उद्देश्य सदस्य देशहरूबिचको व्यापारलाई सहज बनाउनु र लेनदेन लागत घटाउनु रहेको उल्लेख छ।
ब्रिक्स सम्मेलनको पहिलो दिन शनिबार सदस्य देशहरूले नयाँ दिल्ली घोषणापत्र अनुमोदन गरेका छन्।
जारी घोषणापत्रमा रुस र चीनलगायत ब्रिक्स देशहरूले पहलगाम आतंकवादी हमलाको निन्दा गरेका छन्। उनीहरूले आतंककारीहरूलाई आश्रय दिनेहरूविरुद्ध संयुक्त रूपमा कारबाही गर्ने बताएका छन्।
ब्रिक्स नयाँ दिल्ली घोषणापत्रका १० प्रमुख बुँदा
पहलगाम आतंकवादी आक्रमणको निन्दा: अप्रिल २२, २०२५ मा भएको आक्रमणको कडा निन्दा, २६ जनाको मृत्यु भएको उल्लेख गर्दै।
आतंकवादविरुद्ध कडा अडान: आतंकवादका सबै रूप र कारणको निन्दा।
धर्मलाई आतंकवादसँग नजोड्ने: आतंकवादलाई कुनै पनि धर्म, राष्ट्रियता वा समुदायसँग जोड्ने कुराको विरोध।
सीमापार आतंकवादविरुद्ध कारबाही: आतंकवाद, यसको कोष र आतंकवादीहरूलाई आश्रय दिनेहरूविरुद्ध संयुक्त कारबाहीमा जोड।
आतंकवादीहरूलाई जवाफदेही बनाउने: आतंकवादी र आतंकवादी संगठनविरुद्ध सामूहिक कारबाहीको आह्वान।
संयुक्त राष्ट्रसंघको आतंकवादविरोधी सन्धि चाँडै बनाउने: अन्तर्राष्ट्रिय आतंकवादसम्बन्धी प्रस्तावित सन्धि चाँडै अपनाउन माग।
ब्रिक्सका मुख्य सिद्धान्त बलियो रहने: पारस्परिक सम्मान, सार्वभौम समानता, एकता र सहमतिमा आधारित निर्णयहरूमा जोड।
एकपक्षीय भन्सार शुल्कको निन्दा: एकपक्षीय भन्सार शुल्क र व्यापार प्रतिबन्धहरूबारे चिन्ता व्यक्त गर्दै त्यस्ता कदम डब्ल्यूएचओका नियमअनुसार हुनुपर्ने।
आणविक खतरा: आणविक हतियार प्रयोगको खतरा र बढ्दो विश्वव्यापी तनावप्रति चिन्ता व्यक्त।
भारतको अध्यक्षताको प्रशंसा: ब्रिक्स देशहरूले भारतको अध्यक्षतामा भएको ब्रिक्स प्लस र आउटरिच संवादको प्रशंसा गरे।
ब्रिक्स सम्मेलन आज पनि जारी रहनेछ।
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो। सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए। सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको हो।
हाल ब्रिक्समा रुस, चीन, भारत, ब्राजिल, दक्षिण अफ्रिका, इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स गरी ११ पूर्ण सदस्य छन्।







