खेलकुदमन्त्री दलजित श्रीपाइलीको समेत सहभागितामा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले दशरथ रंगशाला सरसफाई गरेको छ ।

नेपालको एकमात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशालामा झाडी उम्रिएर कुरुप भएपछि अखिल क्रान्तिकारीले शुक्रबार बिहान विशेष सरसफाई कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमलाई साथ दिन युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीसमेत सरसफाइमा सहभागी भए । उनी कार्यक्रम अवधिभर सक्रियतापूर्वक सरसफाइमा जुटेका थिए । मन्त्री श्रीपाइलीले दशरथ रंगशालाको शौचालयसमेत सफा गरे । मन्त्री श्रीपाइलीसहित अखिल क्रान्तिकारीले देखाएको सक्रियताले दशरथ रंगशालाको मुहार फेरिएको छ ।

रंगशालामा सर्वसाधारण बस्ने साधारण प्याराफिटमा झार उम्रिएर झाडी बनेको थियो । पोष्टबहादुर बोगटी स्मृति दिवसको अवसर पारेर आयोजना गरिएको सरसफाइ कार्यक्रममा खेलकुदमन्त्री श्रीपाइलीसहित अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने लगायत सहभागी थिए ।

सरसफाइ कार्यक्रम आयोजना गरेको अखिल क्रान्तिकारीका युवा विद्यार्थीहरुलाई धन्यवाद दिँदै खेलकुदमन्त्री श्रीपाइलीले भने, ‘अब हामी रंगशालामात्र हैन खेल क्षेत्रका सबै फोहर सफा गर्ने अभियानमा जुट्नेछौं ।’

अभियानको नेतृत्व गरेका अखिल क्रान्तिकारीका अध्यक्ष न्यौपानेले भने, ‘अन्तराष्ट्रिय बेइज्जती रोक्न हामी यो अभियानमा जुटेका हौं ।’

कार्यक्रममा अखिल नेपाल खेलकुद महासंघले पनि सहभागीता जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको