विनय कर्ण
सप्तरी, २१ आश्विन । सप्तरीको डाक्नेश्वरी नगरपालिकाले एक अपाङ्ग शिक्षकलाई राजिनामा दिन दवाव दिएको छ ।
नगरपालिकाको वडा नम्बर ८ स्थित रहेको राष्ट्रिय प्राथमिक विद्यालय पट्टी प्रवाहाका स्थायी शिक्षक रामविलास पंडितलाई नगरप्रमुख रामलखन मलाह र विद्यालय निरीक्षक कृष्णप्रसाद यादवले राजिनामा दिन दवाव दिएको हो ।
नगरप्रमुख मलाह र विद्यालय निरीक्षक यादवले आफू माथि पुर्वाग्रह राखेर पटक–पटक हाजिरी संगै तलव पनि रोक्का गर्दै आएको शिक्षक पंडितले बताएका छन् । ‘२०७९ कार्तिक देखि रोकेको तलव शिक्षक महासंघको पहलमा बैशाखमा खुवाएको हो र त्यसपछि तलव र हाजिरी रोक्का गरिदिएको छ’ उनले भने, ‘जवजस्ती राजिनामा दिन दवाव दिदै आएको छ ।’
नेपाल सरकारले अपाङ्गमैत्री विद्यालय बनाउन भनेपनि यहाँ अपाङ्ग भएकै कारण पुर्वाग्रही भएर जागिर नै खोस्न लागेको उनले पीडा पोखे । के अपाङ्ग भएपछि जागिर गर्न नपाउने त? उनले प्रश्न गरे ।
‘मलाई ढाड र खुट्टामा चोट लागेकोले तीन बर्ष देखि उपचाररत छु, खुट्टाले अपाङ्ग भएपनि घरबाटै ह्वील चेयर विद्यालय लगेर दैनिक कक्षा शिक्षण गर्दे आएको छु तर विद्यालयका प्रअ सत्यनारायण पासवानले पनि सहयोग गर्नुको सट्टा नगरप्रमुख र विद्यालय निरिक्षक संग मिलेर मलाई जागिरबाट जसरी पनि हटाउने रणनीतिमा लागेर मलाई थप पीडा दिएको छ’ उनले भने, ‘सेवानिवृत्त हुन् डेढ बर्ष बाँकी रहेकोले म सेवा अवधि पुरा गरेर शिक्षण सेवाबाट विदा हुन चाहेको छु । ’
यता डाक्नेश्वरी नगरपालिकाले २०८० भदौ २७ गते शिक्षक पंडितको नाउँमा तलव भत्ता रोक्का र हाजिरी रोक्का राख्न विद्यालयलाई पत्राचार गरेको छ ।
‘डाक्नेश्वरी नगरपालिका शिक्षा समितिको २०८० बैशाख १२ गतेको निर्णय अनुसार निर्णयानुसार श्री राष्ट्रिय प्राथमिक विद्यालय पट्टी प्रवाहामा कार्यरत शिक्षक रामविलास पंडित पूर्णरुपमा अपाङ्ग भएको तथा कक्षाकोठामा शिक्षण सिकाई कार्य गर्न नसकिने अवस्थामा रहेको साथै हिडडूल तथा उठ्न बस्न तथा शिक्षण सिकाई संग सम्बन्धित कुनै किसिमको क्रियाकलाप गर्न नसकिने अवस्थामा रहेकोले निज शिक्षकलाई यस न.पा बाट पाउने सेवा सुविधा उपलब्ध नगराउने तथा विद्यालयको कामकाजमा नलगाउने निर्णय भएको र उक्त निर्णयको मिति २०८० बैशाख १५ मा नगरकार्यपालिका बैठक बाट समेत अनुमोदन भएको हुनाले शिक्षा समितिको निर्णय बमोजिम कार्यान्वयन गर्न आदेशानुसार अनुरोध छ’ पत्रमा भनिएको छ ।
नेपाल शिक्षक संघका मधेश प्रदेश अध्यक्ष परशुराम यादवले डाक्नेश्वरी नगरपालिका क्षेत्राधिकार बाहिर गएको बताए । उनले स्थायी शिक्षकलाई जवजस्ती राजीनामा गराउने अधिकार नगरपालिका संग नरहेका प्रतिक्रिया दिए ।
‘अपाङ्ग भएकै कारण सेवाबाट हटाउन पाउँदैन, विशेष प्रकृतीका शिक्षकलाई अपाङ्गमैत्री विद्यालय बनाएर सुविधा दिनुपर्नेमा यहाँ त उल्टै क्षेत्राधिकार बाहिर गएको देखियो’ यादवले भने ।
विद्यालय निरीक्षक कृष्णप्रसाद यादवले हामीले राजीनामा गर्न दवाव नदिएको तर, शिक्षा समिति र कार्यपालिकाको निर्णय अनुसार हाजिरी र तलव रोकेको बताए । ‘स्थायी शिक्षकको राजिनामा लिने अधिकार पालिका संग छैन्, हामीले दवाव पनि दिएको छैन’उनले भने ।
राष्ट्रिय प्राथमिक विद्यालय पट्टी प्रवाहाका प्रअ सत्यनारायण यादवले आफूले राजिनामा गर्न नभनेको तर पालिकाबाट आएको पत्रानुसार हाजिरी र तलव रोकिएको प्रतिक्रिया दिए ।
डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहले शिक्षक पंडित पूर्ण अपाङ्ग रहेको र पढाउन सक्ने अवस्थामा नरहेकोले उनलको हाजिरी संगै तलव भत्ता रोकिएको जानकारी दिए ।
उनले कुनै गलत भावनाबाट यस्तो नगरेको बताउँदै अध्ययन अध्यापन नै गर्न नसकिने अवस्थामा रहेको शिक्षक पंडितका कारण विद्यालय ठप्प हुँदै आएकोले नैतिकताको आधारमा राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने बताए ।
‘उनको खुट्टा चल्दैन कक्षामा गएर पढाउन सक्ने अवस्थामा छैन् । विद्यालयलाई बन्धक बनाएर राख्न मिल्दैन, राजिनामा दिएर मार्ग प्रसस्त गर्नुपर्छ’ प्रमुख मलाहले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
3
3
0
0
1

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको