राजविराज/जनचेतना अभियान नेपालले पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि सामाजिक परीक्षण कार्यक्रम आयोजना गरी संस्थाको आय–व्यय तथा वार्षिक गतिविधि सार्वजनिक गरेको छ ।
बुधबार सप्तरीको हनुमाननगरमा संस्थाले आय–व्यय तथा वार्षिक गतिविधि सार्वजनिक गरेको हो ।
कार्यक्रममा संस्थाका कार्यक्रम संयोजक अभिषेक कर्णले संस्थाको आर्थिक कारोबार र सञ्चालन गरिएका विभिन्न गतिविधि समेटिएको प्रतिवेदन प्रस्तुत गरेका छन् ।
प्रस्तुत प्रतिवेदनमा संस्थाको कुल आय चार करोड ९४ लाख ३३ हजार ४४ रुपैयाँ रहेको छ भने चार करोड १४ लाख ३४ हजार ९६ रुपैयाँ खर्च भएको छ । त्यसैगरी, संस्थाको मौज्दात ७९ लाख ९८ हजार नौसय ४७ रुपैयाँ  उल्लेख छ ।
कार्यक्रमका प्रमुख अतिथि सप्तकोशी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले सुशासन र पारदर्शिता कायम भए–नभएको विषय सामाजिक परीक्षणबाट स्पष्ट हुने बताए ।
उनले संस्थाले सञ्चालन गरेका गतिविधि लक्षित लाभग्राहीसम्म पुगेका छन् कि छैनन् भन्ने मूल्याङ्कन गर्ने महत्वपूर्ण आधार सामाजिक परीक्षण भएको स्पष्ट पारे ।
जनचेतना अभियान नेपालले सञ्चालन गरेका गतिविधि सन्तोषजनक रहेको उल्लेख गर्दै सरकारबाट मात्रै सबै काम सम्भव नहुने भएकाले सामाजिक विकासका क्षेत्रमा गैरसरकारी संस्थाहरुले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । सामाजिक परीक्षण कार्यक्रम आयोजना गरेकोमा उनले संस्थालाई धन्यवाद समेत दिए ।
कार्यक्रममा पत्रकार विनय कर्णले संस्थाले गरेका कामकारबाहीबारे समुदायलाई जानकारी गराउने उद्देश्यले सामाजिक परीक्षण गर्नु सराहनीय कार्य भएको बताए । सामाजिक परीक्षणले संस्थालाई थप पारदर्शी र जवाफदेही बनाउन सहयोग पुग्ने उनको भनाइ थियो ।
यसैगरी, तिलाठी कोइलाडी गाउँपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख राजेश झा, संस्थाका कानुनी सल्लाहकार सतिश कुमार दत्त, हनुमाननगर कंकालिनी नगरपालिका ८ का वडाध्यक्ष अजय यादव र वडा नम्बर १३ का वडाध्यक्ष कुशेश्वर यादव लगायतकाले सामाजिक परीक्षणको महत्वबारे धारणा राखेका थिए ।
जनचेतना अभियान नेपालका अध्यक्ष तरुणकुमार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका गतिविधि, आर्थिक पारदर्शिता र सामाजिक उत्तरदायित्वका विषयमा छलफल गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको