राजविराज/ सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका सामुदायिक विपद् व्यवस्थापन समितिका सदस्यहरुका लागि सञ्चालित ‘विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम’ सम्पन्न भएको छ ।
जिल्लाको हनुमाननगरमा कात्तिक १२ गतेदेखि सञ्चालन भएको सातदिने तालिम बुधबार सम्पन्न भएको हो ।
समापन समारोहमा प्रमुख अतिथि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारीले राज्यका सबै संयन्त्रले एकैपटक सबै विपद् सम्बोधन गर्न नसक्ने अवस्थामा समुदायमै रहेका विपद् स्वयंसेवकको भूमिका महत्त्वपूर्ण हुने बताए ।
उनले स्थानीयस्तरमा विपद् ब्युरो गठन गरी स्वयंसेवकलाई परिचालन गर्न सुझाव दिदै तालिममा सिकेका सीपलाई नियमित अभ्यास गर्न आग्रह गरे ।
तालिमका संयोजक तथा नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक ठुले राईले तालिमबाट तयार भएका विपद् स्वयंसेवक गाउँपालिकाका सम्पत्ति भएको बताए ।
उनले पालिकाले समूह निर्माण गरी आवश्यकताअनुसार स्वयंसेवकलाई परिचालन गर्नुपर्नेमा जोड दिए ।
तालिम अघि सहभागीको विपद्सम्बन्धी ज्ञान औसतमा २९ प्रतिशत रहेकोमा तालिमपछि ७२ प्रतिशत पुगेको उनले जानकारी दिए ।
तालिमका सहभागी जितेन्द्रकुमार साहले विपद्का विभिन्न पक्षबारे महत्त्वपूर्ण ज्ञान र सीप हासिल गर्न पाएको सुनाए ।
उनले विपद् पूर्वसूचना प्राप्ति तथा प्रवाह, प्रतिकार्य, खोज तथा उद्धार र प्राथमिक उपचारका साथै आगो नियन्त्रण गर्ने व्यावहारिक सीप सिक्न पाउँदा खुसी लागेको बताए ।
अर्का सहभागी पुजा झाले पनि तालिमबाट विपद्को समयमा उद्धार तथा प्रतिकार्यमा खटिन आवश्यक ज्ञान र सीप हासिल भएको बताइन् ।
तिलाठी कोइलाडी गाउँपालिकाका विपद् शाखा प्रमुख राजेश झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनचेतना अभियान नेपालका कार्यकारी निर्देशक जुही ठाकुरले, प्रस्पर ग्लोबलका अधिकृत धर्मप्रसाद बजगाई, जनचेतना अभियान नेपालका अध्यक्ष तरुणकुमार साहलगायतले समुदायस्तरमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन स्थानीय स्वयंसेवकको सक्रियता आवश्यक रहेको धारणा राखे ।
कोकाकोला फाउन्डेसनको आर्थिक सहयोग, प्रस्पर ग्लोबलसँगको साझेदारी तथा जनचेतना अभियान नेपालको आयोजनामा ‘नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण परियोजना’ अन्तर्गत तालिम सञ्चालन गरिएको तालिममा तिलाठी कोइलाडी गाउँपालिकाका सामुदायिक विपद् व्यवस्थापन समितिका २४ जना सदस्य सहभागी थिए ।
तालिमका क्रममा बाढी, पहिरो तथा डुबानमा खोज तथा उद्धार, आगलागी प्रतिकार्य, व्यक्तिगत सुरक्षा र डोरीको प्रयोगलगायतका विषयमा नौ सदस्यीय प्रशिक्षक टोलीले प्रशिक्षण दिएको थियो ।
सहभागीहरूलाई विपद् पूर्वसूचना प्राप्ति तथा प्रवाह, विपद् प्रतिकार्य, खोज तथा उद्धार, प्राथमिक उपचार र आगलागी नियन्त्रणलगायतका विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको जनचेतना अभियान नेपालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको