राजविराज/सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका ७ सडेपारमा राष्ट्रिय स्वतन्त्र पार्टीले शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।
बुधबार आयोजित कार्यक्रममा वक्ताहरुले केन्द्र जस्तै स्थानियतह र प्रदेशमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बनाउनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि तथा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रामकिसुन यादवले स्थानीय तहमा विकास र समृद्धिका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बन्नुपर्नेमा जोड दिए ।
जनताले परिवर्तनलाई आत्मसात् गर्दै रास्वपाको नेतृत्वमा सङ्घीय सरकार गठन गरेको उल्लेख गर्दै उनले अब प्रदेश र स्थानीय सरकारमा समेत रास्वपाको नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरे ।
२००७ सालपछि पहिलोपटक यसपालिको निर्वाचनमा जनताले रास्वपालाई झन्डै दुईतिहाइ मत दिएको उल्लेख गर्दै उनले तीनवटै तहका सरकार रास्वपाको नेतृत्वमा बने विकास र समृद्धिले गति लिने विश्वास व्यक्त गरे ।
यस्तै कार्यक्रमका अतिथिहरु रास्वपाका तिलाठी कोइलाडी गाउँपालाका सदस्य हरि मुखिया, राजविराज नगरपालिका १५ का वडा सभापति सञ्जीवकुमार यादव तथा कुरमान मन्सुरी लगायतले मन्तव्य व्यक्त गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीको आयोजना तथा वडा सभापति पञ्चदेव मंडलको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दल तथा सामाजिक क्षेत्रसँग आबद्ध ३५ जना रास्वपा प्रवेश गरेको आयोजकले जनाएको छ ।







