एजेन्सी। इजरायली गुप्तचर निकाय शिन बेटले गाजामा हमासका सदस्यहरूलाई फोन गरेर मृत्युका दुई विकल्प रोज्न दबाब दिने गरेको खुलासा भएको छ। साउदी अरबको अखबार ‘अशरक अल-अवसत’ले गाजाका स्रोतहरूलाई उद्धृत गर्दै यस्तो सनसनीपूर्ण खुलासा गरेको हो।
रिपोर्टअनुसार, शिन बेटका एजेन्टहरूले हमासका सदस्यहरूलाई फोन गरी उनीहरू लुकेको भवनको छतमा एक्लै जान वा परिवारसहित भवनभित्रै बस्न दुई विकल्प दिने गरेका छन्। छतमा गए एक्लै निशाना बनाइने र परिवारसँगै बसेमा सम्पूर्ण परिवारलाई हवाई आक्रमणमार्फत मारिने धम्की दिइने गरेको दाबी गरिएको छ।
यस्तै घटनाको पछिल्लो उदाहरण मोहम्मद अल-बायूकको हत्या भएको बताइएको छ। उनलाई खान युनिसमा आफ्नै घरको छतमा लक्षित गरी मारिएको थियो।
रिपोर्टअनुसार, शिन बेटका एक एजेन्टले फोन गरेर आफू इजरायलको निशानामा रहेको जानकारी दिएपछि अल-बायूकले परिवारलाई बचाउन एक्लै छतमा जाने निर्णय गरेका थिए। छतमा पुगेपछि उनलाई सानो क्षेप्यास्त्र प्रहार गरी मारिएको बताइएको छ।
अल-बायूकको परिवारले समेत घटनाको पुष्टि गरेको जनाइएको छ। उनका एक चचेरो भाइका अनुसार उनलाई छतमा जानबाट रोक्ने प्रयास गर्दा उनकी काकी गम्भीर घाइते भएकी थिइन्।
‘अशरक अल-अवसत’ले गाजाका स्रोतहरूलाई उद्धृत गर्दै पछिल्ला केही महिनामा यस्ता कम्तीमा पाँच घटना सार्वजनिक भएको जनाएको छ।
रिपोर्टका अनुसार, इजरायलले हमासका तल्लो तहका सदस्यहरूलाई लक्षित गर्न यस्तो रणनीति अपनाउने गरेको छ भने संगठनका शीर्ष नेताहरूलाई ठूला बम तथा विस्फोटक ड्रोनमार्फत निशाना बनाउने गरिएको छ।
यदि रिपोर्टमा उल्लेखित विवरण पुष्टि भएमा, यो सैन्य कारबाहीसँगै सर्वसाधारण परिवारलाई समेत त्रास र दबाबमा पार्ने गम्भीर रणनीतिको उदाहरण हुनेछ। यसले गाजामा युद्धका क्रममा सर्वसाधारणको सुरक्षा र अन्तर्राष्ट्रिय मानवीय कानुनको पालनाबारे थप गम्भीर प्रश्न खडा गरेको छ।







