बारा । मधेश प्रदेशका पूर्वसांसद तथा युवा नेता विदेश्वर प्रसाद यादव ‘विक्की’ले मधेशको राजनीतिक, सामाजिक तथा आर्थिक समस्याको समाधान मधेशी जनताको आफ्नै नेतृत्वबाट मात्रै सम्भव हुने बताएका छन्। उनले मधेशको विकल्प मधेश नै भएको उल्लेख गर्दै अब मधेशी युवाहरूले आ–आफ्नो ठाउँबाट नेतृत्व लिनुपर्ने र मधेशी राजनीतिमा पुस्तान्तरण अपरिहार्य भएकोमा जोड दिएका छन्।

बारामा आयोजित ‘मधेश अबको बाटो’ तथा ‘मधेश आन्दोलनको समीक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै यादवले ओली नेतृत्वको सरकार र वर्तमान बालेन सरकारबाट मधेशका सवालमा अपेक्षित परिवर्तन नहुने टिप्पणी गरे। सुशासनको नारा दिएर बनेको सरकारबाट पनि धेरै आशा गर्न नसकिने बताउँदै उनले मधेशको अधिकार, पहिचान र विकासका लागि युवाहरू स्वयं नेतृत्वमा आउनुपर्ने धारणा राखे।

कार्यक्रममा सामाजिक अभियन्ता तथा अधिवक्ता आनन्द गुप्ताले जेनजी आन्दोलनपछि देशको राजनीतिक परिस्थितिमा परिवर्तन आएको र पुराना राजनीतिक दल तथा नेतृत्वप्रतिको जनविश्वास कमजोर हुँदै गएको बताए। उनले मधेशका माग सम्बोधन गराउन युवाहरूले सरकारमाथि संगठित दबाब सिर्जना गर्नुपर्ने उल्लेख गर्दै माग पूरा नभए नयाँ पुस्ताले मधेशको नेतृत्व सम्हाल्नुपर्ने बताए।

गुप्ताले मधेशी युवाहरू एकजुट भएर मधेशी राजनीतिलाई पुनर्जीवित, पुनर्गठित र पुनःपरिभाषित गर्नुपर्ने आवश्यकता औँल्याए।

त्यस्तै, अभियन्ता ओमप्रकाश चौधरीले मधेशलाई आधार क्षेत्र बनाएको नेपाली कांग्रेसजस्तो पार्टीको महाधिवेशनमा समेत मधेशी, जनजाति तथा दलित समुदायका व्यक्तिहरूले खुला प्रतिस्पर्धामा उम्मेदवारी दिएर जित्ने साहस गर्न नसकेको टिप्पणी गरे। उनले पुराना मधेशी नेताहरूको विकल्पमा नयाँ अनुहारलाई अवसर र प्रोत्साहन दिनुपर्ने बताए।

स्थानीय महिला नेतृ हिरमति कुशवाहाले मधेशमा स्वच्छ छवि भएका र जनताप्रति उत्तरदायी नेताको आवश्यकता रहेको बताउँदै युवाहरूलाई राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिन्।

सामाजिक अभियन्ता सौरभ चौगाईंले जनसंख्याका आधारमा ठूलो हिस्सा ओगटेको मधेशले शिक्षक, चिकित्सक तथा इन्जिनियर उत्पादन गरे पनि गुणस्तरीय विद्यालय, मेडिकल कलेज र इन्जिनियरिङ कलेजको अभाव भोगिरहेको बताए। उनले नयाँ पुस्ताले मधेशको नेतृत्व गर्दै सामाजिक न्याय, सुशासन र विकासलाई अबको राजनीतिको मुख्य एजेन्डा बनाउनुपर्ने धारणा राखे।

शहीद हिफाजत मियाँ अन्सारीकी श्रीमती शोभा राजवंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शहीद परिवारका आमाबुवा तथा सदस्यहरूलाई गम्छा ओढाएर सम्मान गरिएको थियो।

कार्यक्रममा राजेश पटेल, सनी जयसवाल, अधिवक्ता प्रेम चौधरी, रामचन्द्र यादव, प्रभु पटेल, राधिका न्यौपाने, श्याम गुप्ता, जगत कुशवाहालगायत दर्जनौँ वक्ताले मधेश आन्दोलनका उपलब्धि र वर्तमान अवस्थाबारे धारणा राखेका थिए।

वक्ताहरूले पटक–पटकका मधेश आन्दोलनमा सयौँले सहादत दिए पनि शहीदका सपना अझै पूरा हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे। मधेश आन्दोलनको जगमा स्थापित संघीयतालाई कमजोर बनाउने प्रयास भइरहेको आशंका व्यक्त गर्दै उनीहरूले त्यसप्रति मधेशी जनता सचेत हुनुपर्ने बताए।

त्यस्तै, नेपाल–भारतबीचको रोटीबेटी सम्बन्ध हुँदाहुँदै पनि सीमावर्ती नाकाबाट सामान्य खाद्यान्नसमेत ल्याउँदा सर्वसाधारणले दुःख र सास्ती भोग्नुपरेको विषयलाई वक्ताहरूले गम्भीरतापूर्वक उठाए। राज्यका विभिन्न प्रतिबन्ध तथा नीतिका कारण सीमावर्ती क्षेत्रको जनजीवन प्रभावित भइरहेको उनीहरूको भनाइ थियो।

वक्ताहरूले मधेश आन्दोलनका शहीदले राज्यबाट अपेक्षित सम्मान र कदर पाउन नसकेको तथा मधेश प्रदेश सरकारसमेत शहीदको बलिदान र आन्दोलनको भावनाअनुसार अघि बढ्न नसकेको आरोप लगाए। मधेशमा पुराना दल तथा नेतृत्वप्रति जनताको भरोसा कमजोर हुँदै गएको उल्लेख गर्दै उनीहरूले नयाँ पुस्ताका युवाहरू संगठित भएर वैकल्पिक राजनीतिक नेतृत्व निर्माण गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा मधेशका कलाकारहरूले सांस्कृतिक प्रस्तुतिमार्फत मधेश आन्दोलनका विभिन्न झाँकी प्रदर्शन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको