कलैया । बारा जिल्लाको कलैयास्थित करण राज प्यालेसमा ‘मधेश अबको बाटो’ तथा ‘मधेश आन्दोलनको समीक्षा’ विषयक विचार गोष्ठी एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सहिद सञ्जय चौधरी स्मृति प्रतिष्ठानको आयोजना तथा सामाजिक अभियन्ता सञ्जय यादवको नेतृत्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा मधेश आन्दोलनको ऐतिहासिक पृष्ठभूमि, प्राप्त उपलब्धि, वर्तमान चुनौती तथा आगामी दिनमा मधेशले लिनुपर्ने स्पष्ट राजनीतिक र सामाजिक दिशाका विषयमा गम्भीर छलफल गरिएको थियो।
सो अवसरमा बोल्दै कार्यक्रमका आयोजक तथा सामाजिक अभियन्ता सञ्जय यादवले मधेश आन्दोलनले उत्पीडित समुदायलाई अधिकार र पहिचान दिलाउन महत्त्वपूर्ण योगदान पुर्याएको भए पनि त्यसका उपलब्धिहरूलाई संस्थागत गर्न अझै बाँकी रहेको बताए। उनले सहिदहरूको सपना पूरा गर्न र मधेशको समृद्धिका लागि नयाँ दृष्टिकोणका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रमका अन्य वक्ताहरूले मधेश आन्दोलनका क्रममा भएका कमी-कमजोरीहरूको निर्मम समीक्षा गर्दै अधिकार प्राप्तिको लडाइँसँगै अब आर्थिक विकास, शिक्षा, स्वास्थ्य र सुशासनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए। सहिद सञ्जय चौधरीको योगदानको स्मरण गर्दै वक्ताहरूले सहिदहरूकै बलिदानका कारण मुलुकमा सङ्घीयता र समावेशिता सम्भव भएको धारणा व्यक्त गरे।
उक्त अन्तरक्रिया कार्यक्रममा स्थानीय बुद्धिजीवी, नागरिक समाजका प्रतिनिधि, राजनीतिज्ञ, युवा तथा सञ्चारकर्मीहरूको ठूलो संख्यामा उपस्थिति रहेको थियो। कार्यक्रमका सहभागीहरूले मधेशको उज्वल भविष्यका लागि यस्ता विमर्श र समीक्षा कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका छन्।







