राजविराज/ विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवले सहकारी संस्थालाई बचत तथा ऋण कारोबारमा मात्र सीमित नराखी महिला सशक्तीकरण र स्वरोजगार सिर्जनाको माध्यम बनाउनुपर्ने बताएका छन् ।
सप्तरीको विष्णुपुर गाउँपालिका–१ खुरहुरियास्थित गरुकुल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको छैटौँ वार्षिक साधारणसभालाई बिहीबार सम्बोधन गर्दै उनला यस्तो बताएका हुन् ।
प्रमुख अतिथि यादवले सहकारीमा बचत गर्नेदेखि ऋण लिने कार्यसम्म महिलाको अग्रणी भूमिका रहेको उल्लेख गर्दै सहकारीको माध्यमबाट महिलालाई थप सशक्त बनाउनुपर्नेमा जोड दिए ।
सहकारी नामका लागि मात्र नभई घरघरमा पुगेर सदस्यको आर्थिक तथा सामाजिक अवस्था सुधार गर्ने गरी काम गर्नुपर्ने उनको भनाइ थियो ।
सहकारीले ऋण लगानी र बचत सङ्कलन मात्रै गरेर आफ्नो उद्देश्य पुरा नहुने भन्दै उनले महिला तथा युवालाई सहकारीमा आबद्ध गराई स्वरोजगारका अवसर सिर्जना गर्नुपर्ने बताए ।
सहकारीको कार्यालय सञ्चालनका लागि आवश्यक फर्निचरलगायत सामग्री सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लिमिटेड राजविराज शाखाका प्रमुख सञ्जय कुमार महतोले सहकारी संस्थालाई व्यवस्थित र मर्यादित बनाउन नियामक निकाय तथा स्थानीय तहबाट नियमित अनुगमन आवश्यक रहेको बताए ।
उनले तोकिएको मापदण्ड अनुसार ऋण लगानी र बचत सङ्कलन गर्न सके सहकारी संस्थाहरु दिगो र सफल हुँदै जाने धारणा राखे ।
स्थानीय युवा प्रेमनारायण यादवले आफ्नो भविष्य सुनिश्चित गर्न बचत गर्ने बानीको विकास गर्नुपर्नेमा जोड दिए ।
संस्थाका अध्यक्ष जय नारायण यादवको अध्यक्षतामा सम्पन्न साधारणसभामा उनले गत तथा चालु आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गरेका थिए ।







