काठमाडौं – नेपाल शिक्षक महासंघले आगामी चैतभित्रमा जिल्ला अधिवेशन गर्न जिल्लाहरुलाई निर्देशन दिएको छ । यसअघि पुस मसान्तभित्रमा सबै जिल्लाको अधिवेशन सक्ने निर्णय भएपनि आफ्नै काममा व्यस्त भएपछि चैतसम्मको समयसीमा तोकिएको महासंघले जनाएको छ । हो ।
महासंघको चौथो पूर्ण बैठकको निर्णय अनुसार पुस मसान्तसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने भनिएकोमा महासंघको विधान अधिवेशन पछाडि सरेका कारण जिल्ला अधिवेशन र अन्य कार्यक्रमहरुमा पनि असर पर्न गएको महासंघले जनाएको छ ।
‘महासंघको चौथो पूर्ण बैठकको निर्णय अनुसार पुस मसान्तसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने थियो तर महासंघको विधान अधिवेशन पछाडि सरेका कारण जिल्ला अधिवेशन र अन्य कार्यक्रमहरुमा पनि असर पर्न गयो । त्यसैले चौथो र पाँचौ पूर्ण बैठक, विधान अधिवेशन र चौथो सचिवालयको बैठकमा भएको छलफल र निश्कर्षका आधारमा नेपाल शिक्षक महासंघको प्रथम जिल्ला अधिवेशन सबै जिल्लाहरुमा सम्पन्न गर्नका लागि हामीले १२ वुंदे निर्देशन दिएका छौं ।’ महासंघका महासचिव तिलक कुँवरले भने ।
निर्देशनमा प्रथम जिल्ला अधिवेशन हकमा विधानको दफा १३( (१.२) ले गरेको व्यवस्था अनुसार ‘यो विधान प्रारम्भ भएको पहिलोपटक भने जिल्लाभित्र कृयासिल रहेका आवद्ध संस्थाको सम्पुर्ण सदस्यहरु (राज्यकोषबाट तलब भत्ता प्राप्त गर्ने र परिच्छेद ३ नियम ६को ग बमोजिम देशमा विगतमा चलेको राजनैतिक द्वन्दको कारणले विस्थापित शिक्षक (कर्मचारीको हकमा राज्यको सम्बन्धित निकायद्वारा प्रमाणित अभिलेख भएकाहरुलाई पुनर्वाहालीको टुंगो नलागेसम्म) प्रतिनीधि रहने गरी जिल्ला अधिवेशन सम्पन्न गरिनेछ ।’ भन्ने वुंदा पनि उल्लेख छ ।
जिल्ला अधिवेशन सम्पन्न गर्न जिल्ला तदर्थ समिति गठन भएका २८ वटा जिल्लामा सोही तदर्थ समिति आयोजक समिति भई जिल्ला अधिवेशन सम्पन्न गरिने, जिल्ला तदर्थ समिति गठन नभएका बाँकी जिल्लाहरुमा राष्टिय महासमितिबाट तोकिएको पदाधिकारी तथा सदस्यको संयोजकत्वमा सम्बन्धित जिल्लामा कृयाशिल आवद्ध र सम्बद्ध संस्थाका आधिकारिक जिल्ला समितिका अध्यक्षहरु सदस्य रहेको जिल्ला अधिवेशन आयोजक समिति गठन गरी अधिवेशन सम्पन्न गरिने तथा कुनै जिल्ला समितिको अध्यक्षको आधिकारिकता वारेमा विवाद आएको खण्डमा सो विवाद सम्वन्धित संस्थाको केन्द्रीय निकायले नेपाल शिक्षक महासंघ राष्ट्रिय महासमितिलाई प्रमाणित गरि पठाइएको व्यक्ति नै उक्त संस्थाको आधिकारिक अध्यक्ष मानिने र उसलाई नै आयोजक समितिमा सदस्य बनाइने उल्लेख छ ।
जिल्ला अधिवेशन सम्पन्न गर्न संयोजकको जिम्मेवारी तोकिएका सबै पदाधिकारी तथा सदस्यहरुले २०७३ साल फागुनको पहिलो साताभित्र आफ्नो जिम्माको जिल्लामा आयोजक समिति गठन गरी प्रथम बैठक बसाल्नु पर्ने, फागुन १५ गतेसम्म कानुनविद्हरुको ३ सदस्यीय निर्वाचन समिति गठन गरिसक्नु पर्ने, फागुन १० गते भित्र महासंघको राष्ट्रिय महासमितिमा निवेदन दिनुपर्ने, फागुन २० गतेसम्म सम्बन्धित जिल्लाको आबद्ध र सम्बद्ध संस्थाको सदस्यता यकिन गरि सो सदस्य संख्याको विधान बमोजिमको प्रति सदस्यको सदस्यता शुल्क रू १५०।–(एक सय पचास) र अधिवेशन शुल्क रू ६०।– (साठी) गरी जम्मा रू २१०।– (दुई सय दस) नेपाल शिक्षक महासंघको खातामा जम्मा गरिसक्नु पर्ने महासंघले कार्यतालिका बनाएको छ ।