सात राहत उडानबाट मानवीय सामग्री, उद्धार उपकरण र औषधि; फरेन्सिक टोलीद्वारा डीएनए परीक्षणमा सहयोग

काठमाडौं । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोपछि भारतले खोज, उद्धार तथा राहत अभियानमा निरन्तर सहयोग गरिरहेको छ। भारतले हालसम्म सात वटा राहत उडानमार्फत करिब १ सय टन मानवीय तथा विपद् राहत सामग्री नेपाल पठाएको जनाएको छ।

भारतको पछिल्लो सहयोगअन्तर्गत दुई वटा सी–१७ विमानमार्फत २१.५ टन थप राहत सामग्री काठमाडौं ल्याइएको छ। फरेन्सिक किट, मेडिकल उपकरणलगायत अत्यावश्यक सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ।

बाढी आएको दिन भदौ १० गते (२६ अगस्ट) नै भारतले पहिलो राहत उडान नेपाल पठाएको थियो। पहिलो उडानमार्फत १० टन राहत सामग्रीसँगै अस्थायी आश्रयका सामग्री, कम्बल, हाइजिन किट, सोलार बत्ती तथा औषधि ल्याइएको थियो।

त्यसको भोलिपल्ट ३७.५ टन राहत सामग्रीसहित दोस्रो उडान नेपाल आएको थियो। उक्त उडानमा टेन्ट, कम्बल, हाइजिन किट, सोलार बत्ती, पानी निकाल्ने पम्प, किचेन सेट, जेनेरेटर, औषधि तथा खाद्यान्नलगायत सामग्री थिए।

भारतले त्यसपछि थप राहत सामग्रीसँगै सुरुङ उद्धारका लागि प्राविधिक टोली, चिकित्सक तथा प्यारामेडिक्स टोली नेपाल पठाएको थियो। चौथो उडानमार्फत ११ टन राहत सामग्रीका साथै सुरुङ उद्धार उपकरण, फरेन्सिक विशेषज्ञ, डीएनए विश्लेषणका उपकरण, कम्बल, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट तथा हाइजिन किट पठाइएको थियो।

२ सेप्टेम्बरमा आएको पाँचौँ उडानमार्फत ११ सदस्यीय विशेष उद्धार टोली, उद्धार उपकरण तथा ५.५ टन अत्यावश्यक औषधि नेपाल ल्याइएको थियो। उक्त टोलीले नेपाली सेनासँग समन्वय गर्दै सुरुङ उद्धार कार्यमा सहयोग गरिरहेको छ।

डीएनए पहिचानमा भारतीय फरेन्सिक टोलीको सहयोग

भारतबाट आएको १९ सदस्यीय फरेन्सिक टोलीले नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशाला तथा खुमलटारस्थित राष्ट्रिय विधिविज्ञान प्रयोगशालासँग सहकार्य गरी डीएनए नमुना विश्लेषण सुरु गरेको छ।

बाढी तथा पहिरोमा बेपत्ता भएका र मृत्यु भएका व्यक्तिको पहिचान छिटो गर्न फरेन्सिक टोलीले सहयोग गरिरहेको छ। विपद्का कारण आफन्तको पहिचान हुन नसकेको अवस्थामा डीएनए परीक्षणलाई महत्वपूर्ण माध्यमका रूपमा लिइएको छ।

उद्धार अभियानबारे राजदूतद्वारा स्थलगत जानकारी

भारतीय राजदूत नवीन श्रीवास्तवले नुवाकोटको विदुरस्थित नेपाली सेनाको आधार शिविरको भ्रमण गरी खोज, उद्धार तथा राहत अभियानबारे जानकारी लिनुभएको थियो।

भारतीय प्राविधिक टोलीले नेपाली सेनासँगको समन्वयमा चिलिमे र लाङटाङका सुरुङ क्षेत्रमा उद्धार कार्यमा सहयोग गरिरहेको जनाइएको छ।

राजदूत श्रीवास्तवले विदुरस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीसँग पनि भेट गर्नुभएको थियो। बाढी आउनुअघि समयमै निर्णय लिएर विद्यालयका १ हजार ६ सयभन्दा बढी विद्यार्थीको ज्यान जोगाउन दवाडीले महत्वपूर्ण भूमिका निर्वाह गरेको भारतीय पक्षले जनाएको छ।

भारतले राहत सामग्री उपलब्ध गराउनुका साथै सुरुङ उद्धार, फरेन्सिक तथा डीएनए परीक्षण, मेडिकल सहायता र पूर्वाधार पुनःस्थापनाका लागि प्राविधिक सहयोगसमेत उपलब्ध गराइरहेको छ।

विपद्को कठिन परिस्थितिमा भारतबाट प्राप्त भइरहेको मानवीय तथा प्राविधिक सहयोगले नेपालमा जारी खोज, उद्धार र राहत अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुगेको छ। विशेषगरी बेपत्ता तथा मृतकको पहिचानका लागि फरेन्सिक र डीएनए विशेषज्ञको सहयोग महत्वपूर्ण मानिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको