राजविराज । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ।

घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा. अजय शाहसहित पाँच सदस्यीय टोली आजै राजविराज आउने भएको छ।

मन्त्रालयका तर्फबाट उपचारात्मक सेवा महाशाखाका प्रमुख डा. पवनजंग रायमाझीसमेत छानबिन टोलीसँगै राजविराज आउने भएका छन्।

घटनाबारे मन्त्रालयले अस्पतालसँग स्पष्टीकरणसमेत मागेको छ। स्थलगत रूपमा छानबिन गरी घटनाको वास्तविकता बाहिर ल्याइने र छानबिनका क्रममा दोषी देखिएमा सम्बन्धित व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ।

यसैबीच, अस्पतालले पनि घटनाबारे छुट्टै छानबिन समिति गठन गर्ने तयारी गरेको छ।

स्वास्थ्य संस्थामा उपचारका लागि आउने कुनै पनि सेवाग्राहीलाई स्वास्थ्य सेवाबाट वञ्चित गर्न नहुने स्पष्ट गर्दै मन्त्रालयले घटनालाई गम्भीर रूपमा लिएको जनाएको छ। मन्त्रालयले घटनाको अध्ययन तथा आवश्यक छानबिन प्रक्रिया अघि बढाएको जनाएको हो।

अस्पताल परिसरबाहिरै प्रसूति गराउनुपर्ने अवस्था कसरी सिर्जना भयो, अस्पतालका कर्मचारीबाट लापरबाही भयो वा अन्य कुनै कारणले यस्तो अवस्था आएको हो भन्ने विषय छानबिनपछि मात्रै स्पष्ट हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको