राजविराज– ११ दिनदेखि कोशी ब्यारेजमा रिले अनसन वसेका सप्तरी, सुनसरी र उदयपुरका किसाहरुको आन्दोलनमा प्रदेश २ को भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले ऐक्यवद्धता जनाएका छन् ।
मंगलवार अनसन स्थलमै पुगेर मन्त्री साहले पीडित किसानको समस्या प्रति ऐक्यवद्धता जनाएका हुन् ।
कोसी सम्झौता अनुसार नदि कडान र डुवानमा परेको जग्गाको मुआब्जा र क्षतीपुर्तिका लागि आफुले पहले गर्ने उनले प्रतिवद्धता जनाए । किसानको समस्याप्रति आफु चिन्तित रहेको उनको भनाई छ ।
कोसी कटान र डुबानमा परेको जग्गाको क्षतिपूर्ति र मुआब्जाको माग गर्दै सप्तकोसी नदीको पुर्वी कन्ट्रोल रुमअगाडि किसानहरुको रिले अनसन वसिरहेका छन् ।
कोसी सम्झौता अनुसार कोसी कटान र डुबानमा परेको जग्गाको क्षतिपूर्ति र मुआब्जा नेपाल सरकारको सिफारिसमा भारत सरकारले दिनुपर्ने ब्यवस्था छ । तर, नेपाल सरकारले नै चासो नदिदा आफुहरुले मुआब्जा नपाएको उनीहरुको गुनासो छ ।
२०११ बैसाख १२ गते (२५ अप्रिल १९५४) पुल र बाँध निर्माणका लागि नेपाल–भारतबीच १ सय ९९ वर्षे सम्झौता भएको थियो। योजना संचालन भएका कारण कटान र डुबानमा परेको जमिनको मुआब्जा नेपाल सरकारको सिफारिसमा भारत सरकारले उपलब्ध गराउने उल्लेख भए पनि नेपाल सरकारले नै बेवास्ता गरेको संघर्ष समितिका संयोजक चौधरीको आरोप छ।







