राजविराज–सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले किसानलाई सहुलियत दिने उद्देश्यले मंगलबारदेखि निःशुल्क रुपमा धानबालीको कटान सुरु गरेको छ । धान काट्ने जनशक्ति नपाइने भएकोले किसानहरुले समस्या भोग्दै आएका थिए । धान काट्ने रिपर मेसिनमार्फत धानबालीको कटान थालिएपछि किसानहरु खुशी भएका छन् ।“धान काट्ने जनशक्ति पाइरहेको थिएन, यस्तो अवस्थामा गाउँपालिकाले सबै किसानको धान निःशुल्क काटि दिने निर्णय गरेपछि हामीलाई धेरै सहुलियत भएको छ” तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ६ का खुशेश्वर यादवले बताए ।

“कोरोना भाइरसको महामारीको कारण काट्ने जनशक्ति नपाएको र पाकी सकेको धानबाली खेतमै झरेर नोक्सानी हुन सक्ने भएकोले किसानहरुलाई सहयोग गर्न भनी हामीले धानबाली निःशुल्क काटिदिने निर्णयमा पुग्यौं”, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले बताए ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न एकातिर हामी सबै लागेका छौं भने अर्कोतिर किसानले निक्कै लगानी र मिहनेत गरी लगाएको धानबाली समयमै काट्न नसक्दा समस्या हुने देखेर गाउँपालिकाले निःशुल्क रुपमा कटान सुरु गरेको अध्यक्ष सिंहले बताए । मंगलबारदेखि चार वटा मेसिन लगाई वडा नं. ६ को. मधेपुराबाट धानबालीको कटान थालिएको हो । गाउँपालिकाले चार वटा ट्याक्टर र चार वटा रिपर मेसिन खरिद गरी धानबालीको कटान सुरु गरेको गाउँपालिकाका कार्यक्रम अधिकृत राजेशकुमार झाले बताए ।

एउटा वडामा दुई वटा मेसिन मार्फत धानबाली कटान गरिने र त्यसकालागि गाउँपालिकाका किसानलाई खबरसमेत गरिएको उनले जानकारी दिए । गाउँपालिकाको ८ वटै वडामा गरी करिब एक हजार पाँच सय विघाभन्दा बढीमा लगाइएको धानबालीको कटानको खर्च गाउँपालिकाले ब्यहोर्ने र मेसिन लगाएर काटिने गहुँ सम्बन्धित किसानले आफै भित्र्याउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झाले जानकारी दिए ।

यसअघि लकडाउनको कारण किसानको खेतमै रहेको गहुँबाली गत चैत्र महिनामा गाउँपालिकाले खर्च ब्यहोरेर कटान गरिएको विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले बताए । सात सय विघाको गहुँबाली कटान गर्ने लक्ष्य लिएपनि करिब अढाई सय विघामा लगाइएको गहुँबाली कटान गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको