काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन्।
बुधबार बिहान सभापति थापा र उपसभापति शर्मा खड्कालाई भेट्न खड्का निवास गोल्फुटार पुगेका थिए ।
उनीहरुबीच करिब साढे १ घण्टा छलफल भएको जनाइएको छ।
भेटमा नेताहरुबीच पार्टीलाई एकताबद्ध बनाएर जानेबारे छलफल भएको छ ।
गत वैशाख ४ गते सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई आधिकारिकता दिएसँगै दुई पक्षबिच असन्तुष्टी बढिरहेको छ । तर नेताहरुले भेटघाटलाई तिव्रता दिँदै पार्टीलाई एक बनाएर अघि बढ्ने सहमतिसहित सभापति थापाले असन्तुष्ट नेताहरूसँग भेटवार्ता थालेका छन्।
यसै क्रममा कांग्रेसको कोइराला समूहको प्रतिनिधित्व गरिरहेका डा. शेखर कोइरालासँग सभापति थापाले मंगलबार भेट गरेका थिए ।
भेटमा आपसी विश्वास पुनःस्थापना गर्दै पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने सहमति बनेको छ।
त्यसअघि पनि गत वैशाख ६ मा सभापति थापाले खड्कालाई एक्लै भेटेका थिए । त्यसपछि पूर्व गृहमन्त्री समेत रहेका कांग्रेस नेता रमेश लेखकसँग समेत सभापति थापाले भेट गरेका थिए ।







