काठमाडौं । मुस्ताङस्थित कोरला नाकाबाट नेपाल भित्र्याइएका ७७४ वटा विद्युतीय सवारीसाधन सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ ।
करसम्बन्धी कागजातमा अनियमितता भएको सूचनापछि ती सवारी नियन्त्रणमा लिएर छानबिन प्रक्रिया अघि बढाइएको हो ।
सशस्त्र प्रहरीका अनुसार गलत कागजात तयार गरी सवारी भित्र्याइएको आशंकाका आधारमा गाडीहरू नियन्त्रणमा लिइएको हो । हाल भन्सार कार्यालयका कर्मचारीहरूले सम्बन्धित कागजात र सवारीहरूको विस्तृत परीक्षण गरिरहेका छन्।
प्रहरी स्रोतका अनुसार ती सवारीसाधन मुस्ताङ हुँदै म्याग्दीको सिमानासम्म पुगेका बेला बुधबार राति नियन्त्रणमा लिइएका हुन् ।
नेपालमा बीवाईडीका गाडी ल्याएर बिक्री गर्ने साइमेक्स इंकले बजेटमा करका दर हेरफेर हुने सूचना पहिले प्राप्त गर्दा कर छल्नका लागि ठूलो संख्यामा बजेटअघि गाडी भित्र्याएको हो ।
साइमेक्सले बजेटअघिको एक महिनामा सबैभन्दा बढी ८ सय ४० वटा एटो टू नेपाल भित्र्याएको छ। यसैगरी साइमेक्सले सिलायन सेभेन १ सय ४५, एटो वान ४ सय ९ र एटो थ्री २ वटा गरी एक महिनामै १ हजार ३ सय ९६ वटा सवारी जाँचपास गरेको थियो।
साइमेक्सले कर बढ्ने सूचना पाएर बजेटअघिको एक महिनामा १ हजार ३ सय ९६ वटा वीवाईडी कार भन्सार छुटाएको हो। जसमा सरकारलाई आउने १ अर्ब २ करोड ७१ लाख ८२ हजार ५५ रुपैयाँ कर गुमेको छ।
साइमेक्सले बजेटअघिको मे महिनामा मात्रै १ हजार ३ सय ९६ वटा विद्युतीय सवारी मुस्ताङ र रसुवा नाकाबाट जाँच पास गराएको थियो।
साइमेक्सले नेपालमा सवारी बिक्री गर्न थालेपछि एकै महिनामा भित्र्याएको सवारीको संख्या अहिलेसम्मकै बढी हो। बजेटअघि साइमेक्सले भित्र्याएको गाडीबाट राज्यले पाउने कर कम थियो।







