काठमाडौ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाह र आफूमाथि नियोजित रूपमा आक्रमण भइरहेको दाबी गरेका छन्।
बुधबार प्रतिनिधिसभाको अर्थ समितिमा आयोजित बजेटसम्बन्धी छलफलमा बोल्दै वाग्लेले यस्तो दाबी गरेका हुन्।
सरकारले नेपाली इतिहासकै ठुलो वित्तीय अपराधमा संलग्नमाथि छानबिन गरिरहेको अपराधमा संलग्न समूहबाट पालित पोसितबाट प्रधानमन्त्री र आफूमाथि आक्रमण भइरहेको उनले बताए ।
‘नेपाली इतिहासकै ठुलो वित्तीय अपराधमा संलग्नहरूमाथि सरकारले छानबिन गरिरहेको छ। केही दिनमा यो विषय अदालत पुग्दै छ। प्रधानमन्त्रीज्यू र म माथि रुष्ट तिनै समूहबाट पालित पोषितबाट नियोजित रुपमा घेरा बन्दी र आक्रमण भइरहेको मलाई शंका लागेको छ,’ उनले भनेका छन् ।
यसैगरी बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले भन्सार दरमा कुनै नीतिगत चलखेल नभएको र देखिएका विषयहरू प्राविधिक तथा व्याख्यागत कारणले उत्पन्न भएको बताए ।
अर्थमन्त्री वाग्लेका अनुसार गत वर्ष नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको सरकारले सच्याएका केही भन्सार दरहरूलाई यस वर्ष स्पष्ट पारिएको मात्र हो । उनले विशेष गरी रगत तथा भ्याक्सिन बोक्ने क्यारियरको भन्सार दरमा सामान्य प्राविधिक परिमार्जन गरिएको जानकारी दिए ।
उनले ४५७ पानाको दस्तावेजमा सानो ढाँचागत परिवर्तनले पानाको संख्या बढ्न वा घट्न सक्ने भन्दै १६ पाना गायब भएको भन्ने दाबी अस्वीकार गरे। माइक्रोसफ्ट वर्ड जस्ता सफ्टवेयरमा कोलम साइज परिवर्तन हुँदा पानाको संख्या परिवर्तन देखिनु स्वाभाविक भएको उनको भनाइ थियो ।
यसअघि नै जेठ १५ गते प्रस्तुत गरिएको आर्थिक विधेयकका १६ पेज हटाएर अर्थमन्त्रालयले नयाँ रुपमा विधेयक अगाडि सारेपछि यो विषयले राजनीतिक वृत्तमा बहस उत्पन्न गरेको छ।
अर्थमन्त्री डा. वाग्लेले यही जेठ १५ गते आर्थिक विधेयक ल्याएका थिए ।
उक्त विधेयकमा आर्थिक विधेयक पृष्ठ संख्या ४६४ छ । अर्थ मन्त्रालयले फेरबदल गरेर आफ्नो वेबसाइटमा राखेको विधेयकको पृष्ठ संख्या ४४८ छ ।
विधेयकका केही पृष्ठ तथा करसम्बन्धी प्रावधानमा परिवर्तन गरिएको भन्दै विभिन्न दल तथा समूहहरूले सरकारको आलोचना गर्दै आएका छन्।







