राजविराज । सप्तरीको बोदेबरसाईन नगरपालिका भित्र हेल्थ सेन्टर निर्माणका लागि छुट्याइएको सार्वजनिक जग्गा अतिक्रमण गरी व्यक्तिले पक्की घर निर्माण गरेको तथ्य सार्वजनिक भएको छ। स्थानीयवासीका अनुसार साविक बोदेबरसाईन गाउँ विकास समिति वडा नम्बर–७ (हाल बोदेबरसाईन नगरपालिका–५) अन्तर्गत गुद्रीहाट चाँन्दी चोकस्थित कित्ता नम्बर ३९ मा रहेको उक्त जग्गामा निजी संरचना निर्माण भइसकेको छ।

स्थानीयको भनाइमा उक्त जग्गा सुरुबाटै हेल्थ सेन्टरको नाममा छुट्याइएको भए पनि लामो समयसम्म सम्बन्धित निकायको निगरानी नहुँदा अतिक्रमण भएको हो। सार्वजनिक प्रयोजनका लागि सुरक्षित रहनुपर्ने जग्गामा निजी घर निर्माण हुनु गम्भीर विषय भएको उनीहरूले बताएका छन्।

बोदेबरसाईन नगरपालिका–५ का वडा अध्यक्ष मजिबुर रहमानका अनुसार कित्ता नम्बर ३९ हेल्थ सेन्टरको नाममा कायम रहे पनि संरक्षण र निगरानीको अभावका कारण अतिक्रमण हुन पुगेको देखिन्छ। “सप्तरी नापी कार्यालयको अभिलेखअनुसार २०४९ साल पुस ६ गते उक्त जग्गा सरकारको नाममा कायम गरिएको स्पष्ट विवरण छ,” उनले भने।

वडाध्यक्ष रहमानका अनुसार हाल उक्त जग्गामा बनेको घर कसको हो र कुन प्रक्रिया पूरा गरेर निर्माण भयो भन्ने विषयमा वडा कार्यालयले यकिन गर्ने काम अघि बढाइसकेको छ। “नापी कार्यालयबाट जग्गा उपभोगसम्बन्धी विस्तृत विवरण प्राप्त भएपछि अतिक्रमण हटाउने र सरकारी जग्गा संरक्षण गर्ने प्रक्रिया अघि बढाइनेछ,” उनले जानकारी दिए।

यो विषय नेपाली कांग्रेस का युवा नेता राजकिशोर यादवले सूचनाको हक प्रयोग गर्दै नगरपालिकामा निवेदन दिएपछि सार्वजनिक भएको हो। यादवका अनुसार हेल्थ सेन्टरको नाममा दर्ता रहेको जग्गामा भवन निर्माण भइसकेको भए पनि निर्माणकर्ता को हो भन्ने आधिकारिक विवरण नगरपालिकाले अहिलेसम्म उपलब्ध नगराएको छ।

उनले सार्वजनिक प्रयोजनका लागि छुट्याइएको जग्गामा निजी संरचना निर्माण हुनु कानून विपरीत र गम्भीर विषय भएको भन्दै तत्काल निष्पक्ष छानबिन गरी अतिक्रमण हटाउन तथा सरकारी सम्पत्ति संरक्षण गर्न माग गरेका छन्।

स्थानीयवासीले पनि स्वास्थ्य सेवा विस्तारका लागि छुट्याइएको जग्गा अतिक्रमण हुनु दुःखद् भएको प्रतिक्रिया दिँदै नगरपालिकाले ढिलाइ नगरी कानूनी प्रक्रिया अगाडि बढाउनुपर्ने माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको