
[dropcap style=”circle” color=”#ffffff” bgcolor=”#1615d0″ sradius=”0″]क[/dropcap]
२७ भदौ, काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको अन्तरमन्त्रालय सरुवाको मापदण्ड तयार गरेको छ ।
मन्त्रालयले सरुवा गर्दा दुर्गम र सेवा प्रवाह गर्ने कार्यालयमा बसेर काम गरेका कर्मचारीलाई पहिलो प्राथमिकतामा राख्ने भएको छ । तर त्यसरी सरुवा गर्दा ती कार्यालयहरु रिक्त नहुनेगरी मात्र सरुवा गरिने मापदण्डमा उल्लेख छ ।
यस्तै एउटै कार्यालयमा लामो समय बसेका कर्मचारीलाई पनि अन्यन्त्र सरुवा गरिदिने मन्त्रालयको मापदण्डमा उल्लेख छ । यसरी सरुवा गर्दा लामो अवधि बस्नेमध्येबाट पनि सबैभन्दा बढी अवधी बस्नेलाई पहिले सरुवा गरिनेछ ।
तर, मन्त्रालयले सरकारले उपलब्ध गराएको छात्रवृत्तीमा विदेश अध्ययन गरेर आएकालाई भने सहुलियत दिने आसयको प्रस्ताव गरेको छ ।
मापदण्डको ३ नम्बर बुँदामा भनिएको छ, ‘तीन महिना भन्दा बढी अवधिको वैदेशिक अध्ययन तथा तालिम पूरा गरी फर्किएका कर्मचारीहरुलाई निजले आर्जन गरेको ज्ञानको समेत उपयोग हुन सक्ने स्थानमा पदस्थापना हुनेगरी सरुवाको प्राथमिकता दिइनेछ ।
यस्तै मन्त्रालयले यसअघि कम्तिमा ५ बर्ष वा सो भन्दा बढी समय बसिसकेको कर्मचारीलाई सोही पदमा सम्भव भएसम्म सरुवा नगर्ने भएको छ ।
यस्तै कारबाहीमा परेका कर्मचारीलाई कारबाहीबाट उन्मुक्ति दिनेगरी अन्यन्त्र सरुवा नगर्ने मापदण्डमा उल्लेख छ । तर त्यस्ता कर्मचारीलाई उक्त कार्यालयबाट हटाउनु पर्ने अवस्थामा भने सरुवा गरिदिने भएको छ ।
यसो भए सरुवा पक्का
स्वास्थ्य समस्याका कारणले सरुवा माग्ने कर्मचारीले रोगका सम्वन्धमा मेडिकल बोर्डको सिफारिस ल्याएमा उसले रोजेको ठाउँमा सरुवा गर्ने गरी मन्त्रालयले मापदण्ड तयार गरेको छ । यस्तै फरक क्षमता (अपांगता) भएका कर्मचारीलाई पनि उनीहरुले रोजेकै ठाउँमा सरुवा गरिनेछ ।
यस्तै ‘क’ वर्गको भौगोलिक क्षेत्रमा काम गरेका कर्मचारीलाई रिक्त पद मिलेसम्म निजले रोजेकै ठाउँमा सरुवा गर्ने मन्त्रालयले नीति बनाएको छ ।
‘ख’ वर्गको भौगोलिक क्षेत्रमा न्यूनतम अवधि पूरा गरेका कर्मचारीलाई निजले मागेको निकायमा सरुवाका लागि प्राथमिकता दिनेगरी मापदण्ड बनाइएको छ ।
बिशेष क्षमता र अनुभव भएका कर्मचारीलाई भने उनीहरुको क्षमताको उपयोग हुने कार्यालयमा सरुवाका लागि प्राथमिकता दिने छ । तर, मन्त्रालयले स्थानीय निकाय, राष्ट्रिय गौरवको आयोजना र प्राथमिकताका निकायहरुमा भने कर्मचारी रिक्त हुनेगरी सरुवा नगर्ने जनाएको छ । ती निकायहरुमा आवश्यक जनशक्ति पूर्ति हुनेगरी सरुवा हुने मन्त्रालयले जनाएको छ ।
पढ्नुस् सरुवाको मापदण्ड