राजविराज । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीको चेतावनीका बाबजुद नेकपा एमालेका बरिष्ट नेता एवम् पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले शुक्रबार सप्तरीमा निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गरेका छन् ।
राष्ट्रिय स्वास्थ्यकर्मी संघ सप्तरीको आयोजना एवं खानेपानी तथा सरसफाई उपभोक्ता समितिको व्यवस्थापनमा खोजपुरको रञ्जितपुरस्थित जनता आधारभुत निम्न माध्यमिक विद्यालयमा आयोजित एक समारोहबीच नेता नेपालले निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन रिबन काटेर गरेका छन् ।
मोर्चाले एमाले नेताले उद्घाटन गर्ने कार्यक्रमको कडा प्रतिकार गर्ने चेतावनी सहितको प्रेस विज्ञप्ति जारी गर्दै बिहीबार खरचुईया बजारस्थित पुर्व–पश्चिम राजमार्गमा सांकेतिक विरोध स्वरुप एक घण्टा चक्काजाम गरेको थियो ।
रिबन काटेर उदघाटन गर्दै नेता नेपालले आफनो जन्मघर रौतहट, मामाघर सिरहा भएको बताउँदै मत हालेर चुनावमा जिताउने पनि मधेसकै जनता भएकोले मधेससँग आफ्नो मातृप्रेमको सम्वन्ध रहेको बताए । तराई मधेशको बिकासको लागि चुरेको संरक्षण गर्न आग्रह गरे । पुर्वप्रधानमन्त्री नेपालले नेपालको विकासका लागि मधेसको विकासलाई पुर्वसर्त मानेर नै एमालेको ओली सरकारले योजनाहरु ल्याएको बताए ।
उनले अगाडि भने– नौ महिने कालमा बृद्ध भत्ताको सुरुवात र अहिले बृद्धि, स्थानीय निकायमा वजेटको निर्धारण, तराईका जिल्लालाई एकमुष्ट रकम निकासा, तराईमा जनताको सुरक्षित आवासको शुरुवात, फाष्टट्रयाक योजना, पुर्व–पश्चिम रेलको योजना एमालेको नै रहेको जिकिर समेत गरे ।
शिविरको उद्घाटनका क्रममा उनले सामाजिक संरचना पछाडि परेका महिलाहरुको स्वास्थ्यमा ध्यान दिन आग्रह गरे ।
मुलुकको संविधान संशोधनका लागि विदेशी गुहार्न र विपक्षीलाई कार्यक्रम गर्नबाट निषेध गर्नु लाजमर्दो भएको बताउँदै चित्त नबुझेको कुरा तर्क र तथ्यका आधारमा आपसमा छलफल गरेर समाधान गर्न सकिने उनको कथन रहेको थियो ।
खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष बिजय साहको अध्यक्षतामा आयोजित समारोहमा एमाले स्थायी कमिटि सदस्य रामप्रित पासवान, केन्द्रीय सदस्य सुमनराज प्याकुरेल, जिल्ला अध्यक्ष गोबिन्द न्यौपाने लगायतकाले मन्तब्य राखेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका सभापति रामउग्र साह, नारायण प्रसाद साह, बमभोल चौधरी, रविलाल मण्डल, एमालेका राजकुमार साह, देवनारायण मण्डल, माओवादीका बलदेव मण्डल, विरबल मण्डल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका रामाकान्त चौधरी, तराई मधेस राष्ट्रिय अभियानका ललकु चौधरी, आदिवासी जनजातीका हरीनारायण चौधरी, ललिता देवी चौधरी, खरचुईया बजार समितिका अध्यक्ष रामचन्द्र चौधरी, निवर्तमान गाविस उपाध्यक्ष दुखी मण्डल, गाविस सचिव कमल गिरी, जनता आधारभुत निमावि खोजपुरका व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र प्रसाद साह, रेशम राप्रावि खोजपुरका प्रधानाध्यापक गणेश चौधरी, समाजसेवी कृष्ण मण्डल, श्रवण कुमार चौधरी, सत्यनारायण चौधरीलगायतको उपस्थिती रहेको थियो ।
राष्ट्रिय चिकित्सक संघ नेपालको सहयोगमा आयोजित शिविरमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. गणेश गुरुङ, डा. सन्तोष पौडेल, डा. प्रमोद बराल, बालरोग विशेषज्ञ डा. गणेश राई, जनरल फिजिसियन डा. सन्त कुमार दास, डा. निरज बान, डा. रंजित झा, डा. रमेश ढकाल, रेडियोलोजिष्ट डा. रोबिन खडका, डा. प्रज्ञा शाक्य, आँखा रोग विशेषज्ञ डा. शैलेशमणी पोखरेल, मानसिक रोग विशेषज्ञ डा. मथुर बस्नेत, स्त्री रोग विशेषज्ञ डा. अनामिका दास, डा.अंजली रसाइली, दन्त रोग विशेषज्ञ डा. प्रणित पोखरेल, डा.योगेन्द्र प्रसाद राउत, छाला रोग विशेषज्ञ डा.मनोज चौधरीले स्वास्थ्य जाँच गर्ने र सम्पुर्ण उपचार सेवा एवं औषधी निः शुल्क प्रदान गरिएको कोर्डिनेटर डा. कृष्णा अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको