काठमाडौं– १५ जेठमा सरकारले बजेटमार्फत परिमार्जन गरेको आयकरको व्यवस्था आजबाट लागू भएको छ। सरकारले नयाँ आर्थिक वर्ष २०७५/७६ को बजेटबाट आयकरको सीमा (स्ल्याब) मा हेरफेर गरेको थियो। करका केही व्यवस्था साढे एक महिनाअघिदेखि नै कार्यान्वयनमा आए पनि आयकर लगायतका केही व्यवस्था साउन १ बाट कार्यान्वयनमा आएको हो।

यसै क्रममा अधिकांशलाई आफूले गर्ने आम्दानीको हिसाबमा कति आयकर तिर्नुपर्छ भन्ने जिज्ञासा लाग्छ।

बजेटमार्फत आय करमा गरिएको नयाँ व्यवस्थाले निम्न–मध्यम वर्गलाई राहत पुगेको छ। नयाँ व्यवस्था अनुसार, वार्षिक साढे ६ लाख रुपैयाँ (मासिक ५० हजार) सम्म आम्दानी गर्नेलाई फाइदा पुगेको छ, उनीहरूको करको भार विगतमा भन्दा कम छ।

बजेट अनुसार वार्षिक साढे ३ लाख (मासिक २५ हजार रुपैयाँ)सम्म आम्दानी गर्ने प्राकृतिक एकल व्यक्ति (अविवाहित)ले पहिलेकै दरमा कर तिरे पुग्छ। यसअघिको व्यवस्था १ प्रतिशतलाई नै कायम राखिएको छ।

यसअघिको १५ र २५ को स्ल्याबलाई नयाँ १०, २० र ३० को स्ल्याबले प्रतिस्थापन गरेको छ।

वार्षिक साढे ३ (मासिक २९ हजार १ सय) देखि साढे ४ लाख (मासिक ३७ हजार ५ सय) आम्दानी गर्नेले सुरुको साढे ३ लाखमा १ प्रतिशत र बाँकीमा १० प्रतिशत आयकर तिर्छन्। यति आम्दानी गर्ने वर्ग ५ प्रतिशत फाइदामा छ। आयकरको यो दोस्रो स्ल्याब यसअघि १५ प्रतिशत थियो।

त्यस्तै, साढे ४ देखि साढे ६ लाख (५४ हजार १ सय ६० रुपैयाँ) कमाइ हुनेको हकमा अब सुरुको साढे ३ लाखमा १ प्रतिशत, साढे ३ देखि साढे ४ लाखसम्म (१ लाखमा) १० प्रतिशत र बाँकीको हकमा २० प्रतिशत आयकर तिर्नुपर्छ। यसअघि साढे ४ देखि २५ लाखसम्मको आम्दानीमा २५ प्रतिशत कर लाग्थ्यो। आयकरको नयाँ व्यवस्थाले यो वर्गलाई करको भार १० प्रतिशत कम हुन्छ।

वार्षिक साढे ६ देखि २० लाख (१ लाख ६६ हजार) सम्म कमाउनेले भने अब सुरुको साढे ३ लाखमा १ प्रतिशत, साढे ३ देखि साढे ४ (१ लाख) मा १० प्रतिशत, साढे ४ देखि साढे ६ लाख (२ लाख) मा २० प्रतिशत कर तिर्नुपर्छ। त्यसपछिको कमाइमा भने ३० प्रतिशत कर तिर्नुपर्छ।

यो वर्गलाई अतिरिक्त पाँच प्रतिशत करको भार थपिएको छ। यो वर्गले यसअघि २५ प्रतिशत कर तिर्दै आएको थियो।

यसैगरी, २० लाखभन्दा बढी आम्दानी गर्नेलाई अतिरिक्त २० प्रतिशत कर लाग्ने व्यवस्था बजेटले गरेको छ। यस अनुसार, सुरुको साढे ३ लाखमा १ प्रतिशत, साढे ३ देखि साढे ४ (१ लाख) मा १० प्रतिशत, साढे ४ देखि साढे ६ लाख (२ लाख)मा २० प्रतिशत र त्यसपछि साढे १३ लाखमा ३० प्रतिशत आयकर लाग्छ।

यसपछिको आयमा ३६ प्रतिशत कर लाग्छ। यसको छुट्टै सूत्र छ– मानौं तपाईँको आम्दानी २५ लाख छ भने २० लाखमा उल्लिखित स्ल्याब अनुसारको कर लाग्छ भने बाँकी ५ लाखमा सुरुमा ३० प्रतिशत कर लाग्छ, यस्तो कर १ लाख ५० हजार हुन्छ। अब यो १ लाख ५० हजारमा २० प्रतिशत अतिरिक्त कर लगाइन्छ, यो कर ३० हजार पुग्छ र यी तीनै वटालाई जोडेर कर काटिन्छ।

२५ लाखभन्दा माथि आम्दानी गर्ने वर्गलाई भने करको भार थप एक प्रतिशत पर्छ। पहिले ३५ प्रतिशत कर तिर्ने यो समूहका व्यक्तिहरूले अब ३६ प्रतिशत तिर्नुपर्छ।

त्यसमध्ये पनि २० देखि २५ लाखसम्म आम्दानी गर्नेलाई करको चाप बढी छ। उनीहरूले साविकको भन्दा थप करिब ६ प्रतिशत बढी कर तिर्नुपर्छ।

दम्पतीको हकमा पनि यही हिसाब हो। दम्पती र एकल व्यक्तिको सुरुवाती स्ल्याबमा ५० हजारको फरक छ। दम्पतीको पहिलो स्ल्याब चार लाखबाट सुरु हुन्छ। स्ल्याब परिवर्तन हुँदा सोही अनुसार ५० हजारको फरक हुन्छ।

अर्थविद्हरू करको नयाँ व्यवस्थालाई विगतको भन्दा प्रगतिशील देख्छन्। भलै, यसले केही जोखिम ल्याउने तर्क उनीहरूको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको