राजविराज– प्रदेश नम्वर २ कि सांसद रुबी कुमारी कर्ण आफुहरु मिथिला र मैथिलीको पक्षमा उभिए पनि अन्य पार्टीका सांसदहरु भने अन्य पक्षमा रहेको बताएकी छिन् ।
महाकवि विद्यापति स्मृति पर्व समारोहका अवसरमा मैथिल महिला परिषद्ले मङ्गलवार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । नेकपाकी महिला नेता समेत रहेकी उनले आफुहरुको पार्टी पहिचानको पक्षमा उभिएको बताउँदै भनिन् ‘नेकपाका सांसदहरु मिथिला र मैथिलीको पक्षमा उभिएका छौं, अन्तिम क्षणसम्म हामी पहिचानको पक्षमा उभिरहन्छौं ।’
देशकै सबभन्दा दोस्रो ठूलो भाषा मैथिली रहेको तथा मिथिलाको आफ्नै गरिमामय ऐतिहासिक पहिचान रहेको भन्दै यो पहिचानलाई कायम राख्नुपर्नेमा प्रमुख अतिथि कर्णले जोड दिईन् । ‘प्रदेशको नामांकरण, भाषा र राजधानीको विषयमा गृहकार्य भईरहेको छ, त्यसैले यतिबेला मैथिलीभाषीहरु सशक्त रुपमा उभिनु आवश्यक छ’ सांसद कर्णले भनिन् ‘हाम्रो पहिचान नगुमोस्, यसकालागि अन्तिममा भोटिङ्गै गर्नुपर्ने अवस्था आए पनि हाम्रो मत पनि मिथिला र मैथिलीकै पक्षमा हुन्छ ।’
घरपरिवारसँग मैथिलीमै कुरा गर्ने सांसदले पनि हाउसमा हिन्दीमा बोलिरहेको देख्दा आफुलाई दुःख लाग्ने गरेको उनले बताईन् । हाउसमा समेत आफुले मैथिलीमै कुरा राख्ने गरेको बताउँदै सांसद कर्णले भनिन् ‘मैथिली र मिथिलाको आफ्नै इतिहास छ, यसलाई चाहेर पनि मेटिनेवाला छैन, म सहकर्मीहरुलाई पनि भन्ने गर्छु कि त मैथिलीमा कुरा गर्नुस् कि त नेपालीमा, मलाई हिन्दी बोल्न आउँदैन ।’
मैथिल महिला परिषद्की अध्यक्ष शान्ति झाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपाकी अर्की महिला नेता रञ्जु कुमारी झाले मैथिलीभाषीहरुले आफ्नो पहिचान एवम् अस्तित्व रक्षाकालागि एकतावद्ध भएर अगाडि आउनुपर्नेमा जोड दिईन् । कार्यक्रममा लेखक एवम् प्रा.भोला झा, मैथिली साहित्य परिषद्का अध्यक्ष प्रा. अशोक कुमार झा, परिषद्का पूर्व अध्यक्ष विवेकानन्द मिश्र, पूर्व प्राचार्यद्वय नथुनी दास, अमरनाथ झा, मैथिल महिला परिषद्की संस्थापक अध्यक्ष मीना ठाकुर, कमला भन्साली, मैथिल महिला परिषद्की प्रा. बन्दना मिश्र, गायिका कञ्चन झा, कवि धु्रव कुमार मण्डल, वयोबृद्ध गीता देवी झा, सन्तोष यादव, परिषद्का उपाध्यक्ष सतिशकुमार दत्त, सचिव श्यामसुन्दर यादव, सह–सचिव रामअधिन साह, सदस्यद्वय हितनारायण लाल दास, अजय कुमार झा, मालती चौधरी, निशा झा, बन्दना झा लगायतले आ–आफ्नो साहित्यिक रचना सहित महाकवि विद्यापतिको विषयमा चचा गरे । सोही अवसरमा मैथिल महिला परिषद्द्वारा सांसद कर्णलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
मैथिली साहित्य परिषद्द्वारा पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयबाट बुधवार ११ बजे झाँकी जुलुस, नगर परिक्रमा तथा मैथिली भवनमा श्रद्धाञ्जली सभा, सम्मान तथा पुरस्कार समर्पण कार्यक्रम आयोजना गरिने परिषद्का सचिव श्यामसुन्दर यादवले जानकारी दिएका छन् । उनका अनुसार परिषद्द्वारा प्रदान गरिँदैआएको गत वर्ष र यसवर्षको शिवदत्त मिश्र स्मृति पुरस्कारबाट मैथिली भाषा, साहित्य, कलासंस्कृति एवम् अभियानमा महत्वपूर्ण योगदान पुर्याउने चार जना मैथिलीसेवी तथा विजयेन्द्र विनोद कला पुरस्कारबाट दुई जना कलाकारलाई पुरस्कृत गरिने छ । यसैगरी मैथिली भाषा, साहित्य, कलासंस्कृति संरक्षण सम्वद्र्धन तथा समाजिक जागरणमा उत्कृष्ट योगदान पुर्याउने दुई संस्था तथा केही विशिष्ट व्यक्तिलाई सम्मान गरिने सचिव यादवले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको