काठमाडौं । एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले प्रतिशोधको आधारमा पक्राउ गरेको भन्दै केही दिनअघि एक जना युवती सडक आन्दोलनमा उत्रिइन् । भदौ २३ मा भएको जेन–जी आन्दोलन घटनाको छानिबनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगको सिफारिसका आधारमा ओलीलाई पक्राउ गरिएको विरोधमा उनी आन्दोलनमा उत्रिएकी थिइन् ।
प्रदर्शनका क्रममा उनले प्रतिशोध साँधेर ओलीलाई पक्राउ गरेको अभिव्यक्ति दिएकी थिइन् । नयाँ सरकारको आलोचना नगरी केबल ‘केपी ओली रिहा गर’ भन्ने नारा लगाएकी उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । यसलगत्तै उनी सामाजिक सञ्जाल प्रयोगकर्ताको निशानामा परिन् । उनीमाथि सामाजिक सञ्जालमा दुर्व्यवहार भयो । उनलाई ज्यान मार्ने, बलात्कार गर्ने धम्की आउन थाल्यो ।
उनलाई बलात्कारपछि मारिएकी १३ वर्षीया निर्मला पन्तको हालत बनाइदिने र केही समयअगाडि सुर्खेतमा सामूहिक बलात्कार गरी हत्या गरिएकी १६ वर्षीया इनिसा विकको अवस्थामा पुर्याइदिने सम्मका धम्की आए । कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले ओलीकी कान्छी श्रीमती भन्दै एआईबाट सिन्दुर हालेको, चुम्बन गरेको फोटोहरु समेत हालेका छन् ।
साइबर बुलिइङले सीमा नाघेपछि अन्ततः उनी न्यायको लागि साइबर ब्यूरो पुगिन् ।
यस्तै, केही समयअगाडि नेकपा एमालेकी नेता रामकुमारी झाँक्री पनि न्याय माग्दै ब्यूरो पुगेकी थिइन् । अनेरास्ववियुको विद्यार्थी राजनीति हुँदै केन्द्रिय राजनीतिमा आएकी झाँक्री सबैभन्दा धेरै साइबर बुलिइङको शिकार हुने नेतृमा पर्छिन् ।
एमालेबाट अलग भएर एकीकृत समाजवादी पार्टी स्थापना भएदेखि नै उनीमाथि बुलिइङ हुन थालेको थियो । प्रहरीको अनुसन्धान टोलीले झाँक्रीमाथि भएका साइबर आक्रमण, साइबर हिंसा र साइबर दुर्व्यवहारबारे लामो अनुसन्धान समेत गरेको थियो ।
अनुसन्धानका क्रममा उनीमाथि विभिन्न पेसा, वर्ग, जातजाति, लिङ्ग र सबै क्षेत्रमा बस्ने व्यक्तिहरूले व्यक्तिगत रूपमा अपशब्द प्रयोग गरेर गालीगलौज गरेको देखिएको थियो । झाँक्रीमाथि हमला गर्नेमध्ये लैङ्गिक हिसाबमा प्रायः महिलाहरू, महिलाका नाम र महिलाको प्रोफाइल फोटो राखेका नक्कली आईडीहरु धेरै छन् ।
त्यस्तै, केही दिनअघि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि सामाजिक सञ्जालमा आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै ब्यूरोमा उजुरी दिए । सुनिता खड्का नामक टिकटक आईडीबाट साम्पाङको घरसमेत जलाउने धम्की आएको थियो । खड्काले टिकटकमार्फत हर्कले आफ्नो अभिव्यक्तिमा सुधार नगरे मारेर फाल्दिने धम्की दिएकी थिइन् ।
जेन–जी आन्दोलनपछि आम चुनावमार्फत नयाँ सरकार बनेको छ । तर आन्दोलनपछि समाजमा सहिष्णुता हराउँदै गएको भन्ने चर्चा हुने गरेको छ । फरक विचारलाई सम्मान गर्ने संस्कार हराउँदै गएको छ भने डिजिटल माध्यमबाट हुने हिंसा बढ्दै गएको छ ।
साइबर ब्यूरोको तथ्याङ्क अनुसार हरेक वर्ष साइबर बुलिइङको दर बढ्दै गएको देखिन्छ । विगत पाँच वर्षमा ८ हजार १३६ जना बुलिइङको शिकार भएको भन्दै न्यायको लागि साइबर ब्यूरो पुगेका छन् ।
साइबर ब्यूरोको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९र७९ मा ९७९ जनाको उजुरी परेको थियो । त्यस्तै, २०७९र८० मा त्यो उजुरी बढेर एक हजार ६५६ पुग्यो । २०८०र८१ मा एक हजार २२, २०८१र८२ मा एक हजार ८०१ जनाको उजुरी परेको थियो । त्यसैगरी आर्थिक वर्ष २०८२र०८३ अर्थात् ८२ चैत १९ गतेसम्मको तथ्याङ्कमा २ हजार ६७८ जनाको उजुरी परेको छ ।
साइबर ब्यूरोको प्रवक्ता दिलिपकुमार गिरीले पछिल्लो आर्थिक वर्षमा सबैभन्दा धेरै साइबर बुलिइङको उजुरी आएको छ । खबरहबसँग कुरा गर्दै उनले भने, ‘यो वर्ष आन्दोलन र चुनाव दुवै पर्यो । यो समयमा राजनीतिक बहस बढी हुन्छ । आरोप प्रत्यारोपमा कार्यकर्ता र समर्थक अरुबेला भन्दा एक्टिभ हुन्छन् । त्यसकारण घटनाको सङ्ख्या बढेको देखिन्छ ।’
उनका अनुसार पछिल्लो समय साइबर अपराधसँगै उजुरी गर्नुपर्ने चेतना पनि बढेको छ । ‘सेलिब्रेटी हुन् वा सामान्य नागरिक, उजुरी लिएर आएका सबैलाई न्याय दिएका छौँ ।’ उनले भने, ‘सेलिब्रेटीहरुको उजुरी मिडियामा आउने भएका कारण उनीहरुले मात्रै साइबर न्याय पाउँछन् कि भन्ने लाग्न सक्छ । तर जोकोही पीडितले न्याय पाउँछ ।’
नक्कली आईडीमार्फत भएका बुलिङबाट पनि अपराधी जोगिन नसक्ने गिरीको भनाइ छ । उनी सञ्जालमा केही पोष्ट वा कमेन्ट गर्नुअघि सजग हुन सुझाव दिन्छन् । उनी भन्छन्, ‘तपाईंको अभिव्यक्तिविरुद्ध उजुरी परेपछि प्रहरीले पक्राउ गर्छ । पक्राउ परेपछि यस्तो गर्नु हुँदैन भन्ने थाहा थिएन भनेर कतिपय रोइरहेका हुन्छन् । तर कानून जान्दिनँ वा अपराध जान्दिनँ भन्न पाइादैन । कतिपयले कुटेको, पिटेको र मारेको होइन, सञ्जालमा बोलेको त हो नि भनेर समेत उम्किन खोज्छन्, त्यसरी उम्किन पाइँदैन ।’
साइबर अपराधसम्बन्धी ज्ञानको अभावमा पनि अपराध भइरहेको उनको भनाइ छ । ‘स्कुल, कलेज र मिडियाले नै साइबर अपराध के–के हुन् भन्नेबारे सचेत गर्नुपर्ने हुन्छ । साथै, अभिभावक आफैँ पनि सञ्जालको नियमन बारेमा बेखबर देखिन्छन् । कतिपय छोराछोरीले अभिभावकै नक्कल गरिरहेका हुन्छन् । हिंसा र अपराधको प्रकृति परिवर्तन हुँदै गएको छ । हातमा खुकुरी बोक्नेभन्दा धेरै ठूलो अपराध मोबाइल बोक्नेले गरिरहेका छन्’, उनले भने । खबरहवबाट







