काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पद छाड्न दबाब बढेको छ ।

फागुन २१ को निर्वाचनमा पार्टीले सोचेजस्तो नतिजा ल्याउन नसकेको र पार्टी नेतृत्वको कार्यशैली एकलौटी भएको भन्दै असन्तुष्ट पक्षले अध्यक्ष लिङ्देनविरुद्ध मोर्चाबन्दी सुरु गरिएको छ ।

आइतबार काठमाडौंमा महामन्त्री डा.धवलशमशेर राणाको नेतृत्वमा बसेको बैठकले लिङ्देनलाई मार्गप्रशस्त गर्न समेत आग्रह गरेको छ ।

‘सच्चिने कि सकिने भन्ने गम्भीर अवस्थाबिच, केन्द्रीय महाधिवेशनबाट ताजा जनादेश प्राप्त गर्नुबाहेक उत्तम विकल्प राप्रपासँग छैन । केन्द्रीय कार्यसमितिको नियमित चार वर्षे कार्यकाल सम्पन्न भएर पार्टी हाल अरिरिक्त अवधिमा छ । पार्टीले म्याद थप गर्ने निर्णय हुँदा २०८३ जेठभित्र महाधिवेशन सम्पन्न गर्ने निर्णय जगजाहेर छ,’ लिङ्देनलाई पठाइएको पत्रमा भनिएको छ ।

राणासहित दुई दर्जन भन्दा बढी नेताहरु सहभागी भएको बैठकमा नेताहरुले अध्यक्ष लिङ्देनको आलोचनासहित पार्टीलाई थप सशक्त बनाउन तीन विकल्प अघि सारेको छ ।

जसमा महाधिवेशन गर्नका लागि निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने, केन्द्रीय महाधिवेशनको मिति एक हप्ताभित्र घोषणा गर्नेदेखि यसअघि भएका विभिन्न काम कारबाहीको न्यायसंगत छानबिन गरी आगामी महाधिवेशनमा निष्कर्ष पेश गर्न छानबिन समिति गठन गर्ने लगायतका ३ माग रहेका छन् ।

साथै पार्टीको म्याद थप भएपनि २०८३ जेठभित्र महाधिवेशन गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको स्मरण गराउँदै असन्तुष्ट पक्षले अब नेतृत्वले यी मागहरु सम्बोधन नगरे थप कडा कदम चाल्ने चेतावनी समेत दिएको छ ।

फागुन २१ गतेको चुनावमा बहुमत ल्याउने दाबी गरेको राप्रपा प्रत्यक्षतर्फ १ सिट र सामानुपातिकतर्फ ४ सिट जितेर प्रतिनिधि सभामा पाँचौ दल बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको