काठमाडौं । बागलुङस्थित बडिगाड गाउँपालिका–७ मा भिमगिठे स्वास्थ्य चौकी निर्माणका लागि शिलान्यास गरिएको छ । गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजय कुमार सिंहले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।
भारत सरकारको करिब २ करोड ५० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त स्वास्थ्य चौकी उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत बडिगाड गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्षसहित अन्य सरोकारवालाहरूले भारत सरकारको विकास सहयोगप्रति आभार व्यक्त गर्दै नयाँ संरचनाले स्थानीयस्तरमा स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
नेपाल–भारतबीचको बहुआयामिक सहकार्य अन्तर्गत यस्ता परियोजनाले प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकासलाई गति दिनुका साथै नेपालको विकास र समृद्धि अभियानलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।







