काठमाडौ । काठमाडौं महानगरपालिकाले नदी–खोला किनारमा बसोबास गर्दै आएका सुकुम्बासीलाई तत्काल हटाएपछि केही दिनका लागि होल्डिङ सेन्टरमा राखिने र त्यसपछि नागार्जुनस्थित अपार्टमेन्टमा सारिने तयारी गरेको छ।

महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार काठमाडौंका विभिन्न बस्तीबाट हटाइने व्यक्तिहरूलाई सुरुमा अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखिने रत्यहाँ उनीहरूको पहिचान तथा वास्तविक सुकुम्बासी छुट्याउने प्रक्रिया पूरा भएपछि मात्र स्थायी व्यवस्थाका लागि नागार्जुनस्थित अपार्टमेन्टमा स्थानान्तरण गरिनेछ।

उनका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा होल्डिङ सेन्टर व्यवस्थापनको काम अघि बढाइएको छ।

यसअघि डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला नागार्जुनमा चार ब्लकका अपार्टमेन्ट निर्माण गरिएको थियो। निर्माणपछि ती संरचनाहरू प्रयोगविहीन बनेका थिए। कतिपय भवनमा वडा कार्यालय र मानव सेवा आश्रमसमेत सञ्चालनमा छन्।

बागमती, विष्णुमती र मनोहरा किनारमा लामो समयदेखि झुपडी बनाएर बस्दै आएका सुकुम्बासीलाई विभिन्न सरकारले अपार्टमेन्टमा सार्ने प्रयास गरे पनि सफल हुन सकेको थिएन।

नागार्जुनमा रहेका ती अपार्टमेन्टमध्ये एकमा १०० र अर्कोमा १२४ फ्ल्याट रहेका छन्। करिब १२ करोड रुपैयाँ लागतमा बनेका यी भवन स्थानीय विरोध र व्यवस्थापकीय समस्याका कारण पूर्ण रूपमा प्रयोगमा आउन सकेका छैनन्।

स्थानीय तहका केही जनप्रतिनिधिले समेत सुकुम्बासीलाई त्यहाँ राख्ने विषयमा आपत्ति जनाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको