काठमाडौं । नेपाली कांग्रेस ले संगठन सुदृढीकरण र नीतिगत प्रशिक्षणलाई तीव्रता दिन देशभर प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय गरेको छ।
पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको पहलमा सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित दुईदिने भेला गर्न लागिएको हो।
प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माले बुधबार बसेको बैठकमार्फत कार्यक्रम तालिका सार्वजनिक गर्दै वैशाख–जेठ महिनाभर भेला सञ्चालन गरिने जानकारी दिएका छन्।
कार्यतालिकाअनुसार वैशाख २६–२७ गते धनगढी (सुदूरपश्चिम), वैशाख २८–२९ गते लेकवेसी (कर्णाली), तथा वैशाख ३१ र जेठ १ गते पोखरा(गण्डकी) मा भेला हुनेछ ।
त्यसैगरी जेठ ४–५ गते धुलिखेल (बागमती), जेठ ६–७ गते वर्दिवास (मधेस), जेठ ८–९ गते लौकी (कोशी) र जेठ १४–१५ गते तिलोत्तमा(लुम्बिनी) मा भेला आयोजना हुने जनाइएको छ।
भेलामार्फत पार्टीको नीति, प्रशिक्षण, संगठन विस्तार र स्थानीय तहसम्मको समन्वयलाई थप प्रभावकारी बनाउने लक्ष्य लिइएको कांग्रेसले जनाएको छ।
यसैबीच, बैठकले प्रतिष्ठानको उपप्रमुखमा मधु आचार्यलाई चयन गरेको छ।







