काठमाडौं । नेपाल प्रहरीले ३ वर्षे रणनीतिक योजना २०८३–०८५ सार्वजनिक गरेको छ ।
प्रहरीले आफ्नो सेवालाई नागरिक केन्द्रित र प्रविधिमैत्री बनाउनका लागि ३ वर्षे रणनीतिक योजना सार्वजनिक गरेको जनाएको छ ।
योजनामा नीतिगत सुधार, समुदाय प्रहरी सहकार्य, अपराध रोकथाम तथा नियन्त्रण, अनुसन्धानको आधुनिकीकरण, मानवस्रोत विकास र सूचना प्रविधिको प्रयोगलाई मुख्य प्राथमिकता दिइएको छ ।
‘नवप्रवर्तन, इमानदारिता र तत्परता मार्फत प्रहरी सेवाको रूपान्तरण’ भन्ने मूल नारासहित ल्याइएको यो योजनाले प्रहरी संगठनलाई अझ सक्षम, उत्तरदायी र भरोसायोग्य बनाउने विश्वास लिएको प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बताए ।
अघिल्लो ३ वर्षे कार्ययोजनामा ९४ प्रतिशतभन्दा बढी प्रगति भएको जनाउँदै प्रहरीले नयाँ योजनाले शान्ति सुरक्षा, जनविश्वास र सुशासन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिएको छ ।
योजनाको कार्यान्वयनका लागि वार्षिक कार्ययोजना बनाइ सबै तहका कार्यालयको कार्यसम्पादन सम्झौतामा समेटिने भएको छ ।







