सुनसरी । गत आइतबार सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा प्रहरीको गोली लागेर घाइते भएका २७ वर्षीय जयप्रकाश मेहताको मृत्यु भएको छ । विराटनगर न्युरो अस्पतालमा उपचारका क्रममा मेहताको मृत्यु भएको हो ।
उपचारकै क्रममा बिहीबार दिउँसो मेहताको मृत्यु भएको अस्पताल प्रशासनका भारत श्रेष्ठले जानकारी दिए । अस्पतालमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
जयप्रकाशको पेटमा गोली लागेको थियो । गत सोमबार उनको शल्यक्रिया गरिए पनि अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको शव हाल न्युरो अस्पतालमै राखिएको छ।
यसअघि आइतबार राति भएको घटनामा गोली लागेर गम्भीर घाइते भएका देवानगन्ज-४ का २५ वर्षीय ओमप्रकाश मेहताको उपचारका लागि अस्पताल पुर्याइएलगत्तै राति १०:४० बजे मृत्यु भएको थियो। उनको शव पनि अझै अस्पतालमै रहेको प्रहरीले जनाएको छ।
कप्तानगन्जमा दुई पक्षबीच भएको विवाद आइतबार राति हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। उक्त घटनामा गोली लागेर १० जना युवा घाइते भएका थिए।आठ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।







