
काठमाडाैं । देशभर लगातार वर्षा भएपछि सरकारले भोलि आइतबार र पर्सि सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
अविरल वर्षासँगैको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै थप दुई दिन सार्वजनिक बिदा निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित सम्बन्धित कार्यालयबाहेक देशभर सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।
दशैँको बिदापछि भोलि आइतबारदेखि सरकारी कार्यालय खुल्ने तय भएको थियो । तर, विभिन्न राजमार्गमा खसेको पहिरो र मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अलर्टलाई ध्यानमा राख्दै बिदा दिने निर्णय भएको हो ।
‘वर्षाका कारण उत्पन्न हुनसक्ने बाढी, डुबान, भू-क्षय लगायतका जोखिमको साथै सडक तथा हवाई यातायात प्रभावित हुने र मानवीय क्षतीसमेत हुनसक्ने सम्भावनालाई मध्यनजर गरी २०८२ असोज १९ र २० गतेका दिन विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरू बाहेक नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, गृह मन्त्रालयको सूचनामा भनिएको छ ।
उक्त अवधिभर अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन र सुरक्षित स्थानमा रहन सबै मन्त्रालयले सबैसँग अनुरोध गरेको छ ।