काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपालको तीन दिने भ्रमण आज सकेर स्वदेश फर्किंदै छन्।
सोमबार बिहान नेपालको तीन दिने भ्रमणमा आएका कपुर सत्तारुढ दल रास्वपाका राजनीतिक, आर्थिक प्राथमिकता र दुई देशीय सम्बन्ध केन्द्रित भ्रमण पूरा गरी आज स्वदेश फर्कन लागेका हुन् ।
नेपाल भ्रमणमा रहँदा उनले रास्वपा सभापति रवि लामिछाने, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल तथा सूचना प्रविधि (आइटी) व्यवसायीसँग अन्तरक्रिया गरेका थिए।
भेटमा कपुरले व्यापार र लगानीमा ध्यान केन्द्रित गर्नुका साथै नेपाल-अमेरिका द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने बारेमा छलफल गरेका थिए ।
यसैगरी डिजिटल पूर्वाधार, एआईको प्रयोग, साइबर सुरक्षा र अमेरिकी प्रविधि कौशल साझा गर्ने तरिकाहरूका बारेमा कुराकानी भएको थियो।
कपुर बालेन नेतृत्वको सरकार बनेपछि काठमाडौं आउने सबैभन्दा वरिष्ठ विदेशी कूटनीतिज्ञ हुन् ।
यद्यपी कपुरले प्रधानमन्त्री बालेन शाहसँग भने भेटवार्ता गरेनन्। यसबारे कुनै कारण भने खुलाइएको छैन ।
तर यसअघि अमेरिकी उच्च अधिकारीको भ्रमणमा प्रधानमन्त्रीसँग पनि भेटवार्ता हुने गरेको थियो।
यता नेपाल-अमेरिका सम्बन्ध प्रगाढ बनाउन भ्रमण सार्थक रहेको भन्दै अमेरिकी दूतावासले भने कपुरको नेपाल भ्रमण फलदायी भएको जनाएको छ।
तीन दिने भ्रमणमा काठमाडौं रहँदा उनले बौद्धनाथ, पाटन दरबारक्षेत्र भ्रमण गरेका थिए। यी सम्पदाहरू संरक्षण गर्न अमेरिकाले ‘एम्बासडर्स फन्ड फर कल्चरल प्रिजर्भेसन’मार्फत सहयोग गर्दै आएको छ ।







