काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णकुमार कार्कीसँग जोडिएको विदेशी महिलालाई अलपत्र पारेको विषय प्रतिनिधि सभामा प्रवेश गरेको छ ।
मोरङ–२ बाट निर्वाचित सांसद कार्कीले एक नाइजेरियन महिलालाई प्रेम जालमा पारेर गर्भवती बनाएर अलपत्र पारेर भागेको विषय सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की सांसद पार्वती विकले उक्त विषयमा सरकार र सदनको ध्यानाकर्षण गराएकी हुन् ।
सांसद विकले सत्तारुढ पार्टीका सांसदले गरेको भनिएको घटना के हो ? सदनमा स्पष्ट पार्न आग्रह गरेकी छन् ।
‘एकजना सत्तापक्षका सांसदले एकजना विदेशी महिलालाई गर्भवती बनाएर बेपत्ता भएको कुरा सामाजिक सञ्जालमा यत्रतत्र छ,’ यथार्थ घटना के हो यो सदन स्पष्ट हुन चाहन्छ,’ बिकले भनिन् ।
सांसद विकले आरोपबारे सत्य तथ्य छानबिन गरी सदनलाई जानकारी गराउन माग गर्दै घटना पुष्टि भए सम्बन्धित सांसदलाई कानुनी तथा संसदीय कारवाहीको दायरामा ल्याउनुपर्ने समेत बताइन् ।
त्यस्तै नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्णले पनि विदेशी महिलालाई त नछाड्ने सांसदले आफ्नो मुलुकका महिलालाई कसरी सम्मान गर्न सक्छ भन्दै प्रश्न गरिन् । उनले सदनलाई यथाशीघ्र सत्यतथ्य जानकारी गराउन आग्रह गरिन् ।







