ललितपुर । नेपाल भ्रमणमा रहेकी अमेरिकाका उपविदेशमन्त्री तथा सार्वजनिक कूटनीति उपमन्त्री सारा बी रोजर्सले ललितपुरस्थित ऐतिहासिक पाटन दरबार स्क्वायरको अवलोकन गरेकी छन् ।

भ्रमणका क्रममा उनले २०१५ को भूकम्पबाट क्षतिग्रस्त १६औँ–१७औँ शताब्दीका दरबार तथा मन्दिरहरूको पुनर्निर्माण र संरक्षण कार्यबारे जानकारी लिएकी थिइन् ।

रोजर्सले सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव सार्वजनिक गर्दै पाटन दरबार स्क्वायरको जीर्णोद्धारमा अमेरिकाले गरेको सहयोगको चर्चा गरेकी छन् ।

उनले अमेरिकी राजदूत सांस्कृतिक संरक्षण कोषमार्फत गरिएको सहयोगलाई “अमेरिकी विदेश मन्त्रालयको सबैभन्दा महत्वपूर्ण सांस्कृतिक योगदानमध्ये एक” भएको उल्लेख गरेकी छन्।

उनका अनुसार, पाटन क्षेत्रको पुनर्निर्माणमा परम्परागत काष्ठकला र मौलिक वास्तुकलाको संरक्षणलाई विशेष प्राथमिकता दिइएको छ।

आवश्यक ठाउँमा पुराना शिल्प परम्परालाई पुनर्जीवित गर्न स्थानीय शिल्पकारका सन्तानलाई समेत सहभागी गराएर तालिम प्रदान गरिएको उनले बताइन् ।

भ्रमणका क्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उनलाई स्वागत गरेका थिए भने अमेरिकी सांस्कृतिक संरक्षण परियोजनाका विज्ञ डा. रोहित रञ्जितकारले पुनर्निर्माण कार्यको नेतृत्व गरेका थिए।

रोजर्सले पाटन दरबार स्क्वायरलाई विश्व सम्पदाको महत्वपूर्ण उदाहरण भन्दै यसको संरक्षण र पुनर्निर्माणमा स्थानीय र अन्तर्राष्ट्रिय सहकार्यको प्रशंसा गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको