सुनसरी। असोज मनसुन अझै केही दिन सक्रिय हुने भएकाले दसैँको रौनकमा वर्षा बाधक बन्ने देखिएको छ । देशका विभिन्न क्षेत्रमा शुक्रबार पनि पानी परेकाले हिले दसैँ बन्ने चिन्ता बढेको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार अझै केही दिन मनसुन लम्बिने सम्भावना छ । मौसमविज्ञ समीर श्रेष्ठले बुधबारदेखि बंगालको खाडी र अरेबियन सागरबाट निरन्तर जलवाष्प आइरहेकाले मनसुन लम्बिने सम्भावना रहेको बताए । नेपालबाट मनसुन अन्त्य हुने समय भइसके पनि पछिल्लो समय निरन्तर जलवाष्प आइरहेकाले दसँैभर वर्षा हुने उनले बताए । तर, ठूलो वर्षाको सम्भावना भने कम रहेको छ ।
ठूलो पानी भने नपर्ने
मौसमविज्ञ श्रेष्ठले भने, ‘दसैँभरि वर्षात भए पनि निरन्तर ठूलो पानी पर्ने सम्भावना कम रहेको छ ।’ छिटफुट वर्षा देशैभरि हुने प्रक्षेपण गरिएको छ । तर, हिमाली र पहाडी क्षेत्रको तुलनामा तराई क्षेत्रमा भने न्यून वर्षा हुने बताइएको छ । हिमाली र पहाडी क्षेत्रमा बादल भएकाले अलि धेरै वर्षा हुने देखिएको हो । एक हप्तापहिला पश्चिम नेपालतिर जलवाष्प घट्दै आएकाले मनसुन सकिने अनुमान गरिएको थियो ।
पश्चिम नेपालदेखि पूर्वी नेपालतिर जलवाष्प सर्दै जानुलाई मनसुन सकिने संकेतका रुपमा लिने गरिन्छ । तर, गत बुधबारदेखि अरेबियन र बंगालको खाडीबाट जलवाष्प निरन्तर आइरहेकाले मनसुन लम्बिने देखिएको हो । यो अवधिको वर्षाको सबैभन्दा मार दसैँ मनाउन घर फर्कने तथा टीका थाप्न जानेहरूलाई पर्ने देखिएको छ । वर्षात भइरहेकाले राजमार्गवरिपरि पहिरो खसेर बाटो अवरुद्ध हुने सम्भावना पनि देखिएको छ । दशमीको दिन बेलुकादेखि भने मौसममा सुधार हुने अनुमान गरिएको छ ।
गत वर्ष पहिले नै सकिएको थियो मनसुन
गत वर्षको मनसुन दसँैको घटस्थापना भन्दा अगाडि नै सकिएको थियो । गत वर्ष मनसुन ३० जेठदेखि सुरु भई १६ असोजमा सकिएको थियो भने घटस्थापना त्यसको १० दिनपछि सुरु भएको थियो । यस वर्षको मनसुन करिब एक हप्ताजसो ढिलो १ असारदेखि सुरु भएको थियो । नेपालमा २८ जेठदेखि ७ असोजको समयलाई मनसुन समयका रूपमा लिइन्छ ।
तराई क्षेत्रमा कम वर्षा
यस वर्षको मनसुनमा हिमाली र पहाडी क्षेत्रको तुलनामा तराई क्षेत्रमा कम वर्ष भएको विभागको तथ्यांकले देखाएको छ । तराईको विराटनगर, जनकपुर, सिमरा, भैरहवा, दाङ, नेपालगन्ज र धनगढी क्षेत्रमा कम वर्षा भएको छ । आजको नयाँ पत्रिका राष्ट्रिय दैनिकमा खबर छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको