Image captionयो सडकलाई भारतको सीमाको सुनौलीदेखि चीनको कोरलासम्म जोड्ने लक्ष्य राखिएको छ

नेपालको पश्चिमक्षेत्रलाई चीनको तिब्बतसँग जोड्ने कोरला नाकाको सडक दुई वर्षभित्र निर्माण सक्ने गरी काम भइरहेको अधिकारीहरुले बताएका छन्।

११० किलोमिटर लामो उक्त सडकलाई दुई लेनको बनाउने गरी बोलपत्र आह्वान प्रक्रिया सकिएको र हिउँदलगत्तै निर्माणको काम सुरु हुने बताइएको छ।

पहिले नै ट्रयाक खोलिसकिएको हुनाले एकैसाथ सात वटा खण्डमा काम गर्ने लक्ष्य लिइएको छ।

योजना

उत्तर दक्षिण जोड्ने सम्भावना रहेका क्षेत्रमा सडक निर्माण गर्ने सरकारको रणनीतिक योजना अनुरुप कोरला नाका जोडने सडक निर्माणको काम अघि बढाइएको हो।

उक्त सडकलाई भारतीय सीमाको सुनौलीदेखि चीनको कोरलासम्म जोड्ने लक्ष्य राखिएको छ।

जसमध्य निकै महत्वपूर्ण मानिएको मुस्ताङको जोमसोम देखि कोरला जोड्ने सडक खण्डलाई ग्राभेल गरी दुई लेनको बनाउने काम भइरहेको उक्त दक्षिण लोकमार्गका आयोजना निर्देशक गोपालप्रसाद सिग्देलले बताए।

उनले भने ,”स्तरोन्नति गर्नका लागि ११० किलोमिटर सडककै ठेक्कापट्टा गरिसकेका छौं, यो दुई वर्षभित्रमा ग्राभेलस्तरको सडक निर्माण गरिसक्ने लक्ष्य राखेका छौं।”

११० किलोमिटर लामो उक्त सडक खण्डलाई सात भागमा विभाजन गरी बोलपत्र आह्वान गरिएको तर उच्च भूभाग भएकाले हिउँदमा काम गर्ने सकिने अवस्था नरहेको बताइएको छ।

लाभ

हिँउद सकिएलगतै काम अघि बढाउने योजना सडक विभागले बनाएको छ।

योसँगै यही राजमार्गमा पर्ने बेनीदेखि जोमसोमसम्मको ७४ किलोमिटर लामो सडकलाई दुई लेनको कालोपत्रे बनाउने काम समेत अघि बढाइएको छ।

कोरला जोड्ने सडक निर्माणका लागि बजेटको अभाव नरहेको भनाइ आयोजना निर्देशक सिग्देलको छ।

उनले भने ,”उत्तदक्षिण कालिगण्डकी कोरिडोरभित्र पर्ने र राष्ट्रिय गौरवको योजना भएको हुनाले सरकारबाट बजेटको कमी हुँदैन भन्ने सुनिश्चित गरिएको छ। ठेक्का पट्टाअघि बढाउने बेला साढे चार अर्बको बजेट आउने कुरा अर्थमन्त्रालयले भनिसकेको छ।”

कोरलादेखि तिब्बतको मुख्य राजमार्गको ढुङगासेन जोड्ने ४५ किलोमिटर सडक खण्ड चीनको क्षेत्रमा पर्दछ।

नेपाली भूभागको सडक निर्माणसँगै उक्त सडक पनि निर्माण हुन सकेमा मात्र कोरला नाकाबाट नेपालले अपेक्षित लाभ लिनसक्ने बताइएको छ।

र, त्यसका लागि कूटनीतिक रुपमा सरकारले पहल गर्नुपर्ने भनाइ सडक विभागका अधिकारीको छ। –वीवीसी नेपाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको