Image captionमोसुल शहरलाई पुन: आफ्नो नियन्त्रणमा लिनका लागि महिनौंदेखि कारबाहीको योजनाहरु बनाइएका थिए

इराकका प्रधानमन्त्री हैदर अल अबादीले विद्रोही समूह इस्लामिक स्टेटका लडाकुहरुको नियन्त्रणमा रहेको इराकको दोस्रो ठूलो सहर मोसुललाई पुन आफ्नो नियन्त्रणमा लिनका लागि सैन्य कारबाही शुरु भएको बताएका छन्।

मध्येरात सरकारी टेलिभिजनमार्फत गरिएको सम्बोधनमा प्रधानमन्त्री अबादीले अब कारबाहीको समय आएको र ठूलो जितको क्षण नजिकिएको बताए।

कुर्दहरुको पेशमेर्गा लडाकू समूह, इराकी सरकार र सम्बद्ध फौजबाट भएको सो धेरै पर्खाई गरिएको आइएसविरुद्धको हमलालाई अमेरिकी नेतृत्वको गठबन्धनको समर्थन रहेको छ।

मानवीय सहायता समूहहरुले उक्त क्षेत्रमा ठूलो संख्यामा गैरसैनिकको हताहती हुनसक्ने चेतावनी दिएका छन्।

कब्जा

मध्यरात सरकारी सञ्चारमाध्यमबाट उक्त घोषणा गर्दै प्रधानमन्त्री अबादीले भने, “म आज घोषणा गर्छु ‘डाइस’को हिंसा र आतंकबाट मुक्ति दिनका लागि कारबाही शुरु भएको छ। अब ठूलो जितको क्षण नजिकिएको छ।”

सुन्नीहरुको बाहुल्यता रहेको मोसुल शहरमा केवल सरकारी फौजमात्रै प्रवेश गर्नसक्ने पनि उनले बताए।

इस्लामिक स्टेटले तीब्र हमला गर्दै मोसुलसहित पश्चिम इराकको ठूलो भूभागलाई सन् २०१४ मा आफ्नो कब्जामा पारेको थियो।

मोसुल, उक्त विद्रोही समूहको इराकमा रहेको महत्वपूर्ण र बलियो पकडको क्षेत्र हो।

त्यसको धेरै क्षेत्रलाई अहिले पुन: सरकारी नियन्त्रणमा लिइएको छ।

अमेरिकी लडाकूविमानहरुले मोसुल सहरमा आक्रमण गरिरहेका छन्।

इराकका सेनाले महिनौंसम्म त्यहाँ ठूलो हमलाको लागि तयारी गरिरहेका थिए।

उक्त शहरको नियन्त्रण गुमाउनुले इराकमा इस्लामिक स्टेटको हारको संकेत गर्ने अधिकारीहरुले बताएका छन्।

चेतावनी

मोसुल शहरबाट नै इस्लामिक स्टेटका नेता अबु बक्र अल बग्दादीले उक्त क्षेत्रलाई इस्लामवादी कानुन शासित राज्य क्यालिफेट भनेर घोषणा गरेका थिए।

जुन क्यालिफेट अन्तर्गत इराक र सिरियाका उसको नियन्त्रणमा रहेका क्षेत्रसमेत समेटिएका थिए।

आक्रमण हुनै लागेको छ भन्ने चेतावनीसहितका हजारौं पर्चाहरु हालैका दिनहरुमा त्यहाँ छरिएका थिए।

आइएसविरुद्धको गठबन्धनका लागि अमेरिकाका दूतले ट्वीटरमार्फत उक्त ऐतिहासिक कारबाहीका लागि इराकको पक्षमा उभिन पाउँदा आफुलाई गर्व लागेको बताए।

मोसुल शहरमा कति मानिसहरु बाँकी छन् भन्ने यकिन तथ्यांक छैन तर दुई वर्षभन्दा अघि आइएसले आफ्नो नियन्त्रणमा लिँदा त्यहाँ २० लाख भन्दा बढी मानिस थिए।

नयाँ तथ्यांक अनुसार आइएसले आफुले कब्जा गरेको भूभागको करिब एक चौथाइ क्षेत्र गुमाइसकेको छ।

यसैबीच संयुक्त राष्ट्रसंघले कारबाहीका कारण त्यहाँ मानवीय सहायताका लागि ठूलो प्रभाव पार्ने र त्यसले १२ लाखसम्म मानिसहरुलाई असर गर्ने चेतावनी दिएको छ। –वीवीसी नेपाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको