
काठमाडौं–भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विकासका मुद्दामा नेपाल र भारतबीच सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।
नेपाली र भारतीय प्रतिनिधि मण्डलबीच गोवाको होटल लिलामा भएको भेटवार्र्तामा मोदीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री मोदीको नेतृत्वमा रहेको नेपाल र भारतको प्रतिनिधि मण्डलबीच पूर्व सहमतिहरु कार्यान्वयन लगायतका विषयमा पनि छलफल भएको थियो ।
भेटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा भएका सहमतिहरुको कार्यान्वयनका लागि नेपाल प्रतिवद्ध रहेको बताए । भेटमा नेपालका तर्फबाट प्रधानमन्त्री प्रचण्ड, परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत, परराष्ट्र सचिव शंकरदास बैरागी, प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्मा, शिष्टाचार महापाल दीपक अधिकारी लगायत रहेका थिए भने भारतका तर्फबाट प्रधानमन्त्री मोदी, विदेशमन्त्री सुष्मा स्वराज, नेपालका लागि भारतीय राजदूत रञ्जित राय लगायत विदेश मन्त्रालयका उच्च अधिकारी सहभागी थिए ।