राजविराज । सप्तरी जिल्लाको राजविराज कुनौली सडक खण्ड अन्तर्गत गाविस तिलाठी–८ अवस्थित कुनौली भन्सार भारतीय मुद्राको अवैध ओसार–पोसार गर्ने मार्ग बन्दै गएको छ ।
सिमावर्ती भारतीय बजार कुनौली सित खुल्ला सिमाना जोडिएको कुनौली भन्सार भारतीय मुद्राको अवैध ओसार–पोसार गर्नेहरुका लागि निकै सहज बन्दै गएको छ ।
स्मरणीय छ, भारतीय कुनौली बजार तथा कुनौली भन्सार बीच दश जग्गाको मात्र अन्तर रहेको छ भने खुल्ला सिमानाका कारण त्यस्ता कारोबारीहरुलाई आऊँजाऊ गर्न समेत सहज हुन गरेको छ।
विगतमा भारतीय बजारका व्यापारीहरु जिल्लाको सदरमुकाम राजविराज स्थित बैंकहरुमा दर्जनौ चिनजानका नेपालीहरुका नाममा खाता संचालन गरी भारतीय बजारको एटिएमबाट भारतीय मुद्रा झीकी चर्काे कमिशन लिई नेपालीहरुलाई भारतीय मुद्रा उपलब्ध गराउँदै आएको थियो ।
तर, गत आइतबार भारतको उत्तर प्रदेश राज्यको मेरठ जिल्ला अन्तर्गत बिसोला गाउँका रजनिश कुमार चौधरीको साथबाट प्रहरीले झण्डै ४ लाख भारतीय मुद्रा चेकजाँचको क्रममा प्रहरीले बरामद गरेपछि भारतीय मुद्राको अवैध–ओसार पोसारको रहस्यको खुलासा भएको छ ।
प्रहरी चौकी तिलाठीका प्रहरीहरुले चेकजाँचको क्रममा पक्राउ परेको चौधरीलाई आवश्यक कारवाहीका लागि सोमबार बिहानै केन्द्रिय राजस्व कार्यालय बबरमहल काठमाडौं पठाएको केही घण्टामै पाँच लाख बढी भारतीय मुद्रा सहित थप एक जना पक्राउ परेका छन् ।
सोमबार दिउँसो सप्तरीको गाविस रम्पुरा मल्हनिया–६का बिरेन्द्र प्रसाद यादवलाई चेकजाचको क्रममा सशस्त्र प्रहरीले भारतीय मुद्रा सहित गाविस तिलाठी–८, कुनौली भन्सारबाट पक्राउ गरेको हो ।
पक्राउ परेका यादवका साथबाट भारतीय मुद्रा ५ लाख ३७ हजार २ सय अस्सी रुपैयाँ बरामद भएको र यादवलाई आवश्यक कारवाहीका लागि राजस्व कार्यालय बबरमहल काठमाडौं पठाइने तयारी भइरहेको सशस्त्र प्रहरी बल बिओपी तिलाठीका इन्सपेक्टर जिवेस कुमार पाण्डेले बताए ।
यसरी दैनिक रुपमा अवैध रुपले भारतीय मुद्रा ओसार–पोसार गर्नेहरु रंगेहाथ पक्राउ पर्न थालेपछि उक्त कुनौली भन्सार मार्गबाट पर्याप्त रुपमा भारतीय मुद्राको ओसार –पोसार भइरहेको विश्लेषकहरु बताउँछन् ।