राजविराज । नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष ओम प्रकाश साहले छोरीको जन्म दिनको अवसरमा फरक क्षकता भएका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गर्दै छोरीको जन्म दिन मनाएका छन् ।
बुधबार छोरी ओरिसाको छैठौं जन्म दिवसको अवसर पारेर राजविराजस्थित बहिरा बालक विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका हुन् ।
विद्यालयमा अध्य्यनरत १५ जना बालबालिकालाई कापी, कलम, पेन्सिल, कटर, इरेजर सहितका सामग्री प्रदान गरिएको ओरिसाका आमा रिता देवी सहाले जानकारी दिइन ।
राजविराजबाट प्रकाशित विलोचन साप्ताहिक पत्रिकाका संचालक तथा सम्पादक रहेका पत्रकार ओमप्रकाश साहको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवणकुमार देवको प्रमुख आतिथ्यमा आयोजित शैक्षिक सामग्री वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखा सप्तरीका पूर्व अध्यक्ष धिरेन्द्र प्रसाद साह, नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष बिनय कर्ण, वडा नम्बर ६ का सदस्य दीपक शर्मा, वडा नम्बर ७ का सदस्य रामान्नद देव, विद्यालयका प्रधानाध्यापक चाँदनी यादव सहितकाले सामग्री वितरण गरेका थिए ।
कार्यक्रममा बक्ताहरुले जन्म दिन, वैवाहिक बर्षगाठ्जस्ता उत्सवमा भोजभतेर गर्नुभन्दा गरीब, विपन्न असहायलाई सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
पत्रकार साहले छोरीको जन्म दिन प्रत्येक बर्ष गरीब, विपन्नलाई सक्दो सहयोग गरि मनाउदै आईरहेका छन् ।
सो अवसरमा सहभागिहरुले ओरिसालाई जन्म दिनको शुभकामना दिएका थिए ।







