जलेश्वर । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले तीन दलले आफ्नो साख बचाउनका लागि महाअभियोगको प्रस्ताव ल्याएको टिप्पणी गरेका छन् । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको जिज्ञासालाई जवाफ दिने क्रममा अध्यक्ष महतोले यस्तो बताएका हुन् ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीमाथि महाअभियोगको प्रस्ताव ल्याएर तीन दलले संविधान कार्यान्वयन मुद्दा ओझेलमा पार्न खोजेको आरोप लगाए । उनले भने, ‘संविधान कार्यान्वयन गर्ने बेलामा महाअभियोगको प्रस्ताव तीन दलले आफ्नो साख बचाउन ल्याएको छ, यसबारे आफूहरुलाई कुनै मतलब छैन ।’ तीन दलले आफ्नो स्वास्थ्य बनाउन, जोगाउन र संकटबाट पार लगाउन यस्तो महाअभियोग ल्याएको बताउँदै अध्यक्ष महतोले भने, ‘संविधानको प्रक्रियाअनुसार लोकमान रहन्छ कि जान्छ आफूहरुलाई खासै मतलब छैन, न उसलाई जोगाउनु छ न त हटाउनु नै छ ।’ महाअभियोगको विषयमा मोर्चाको आधिकारिक धारणा यही हो त सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले भने, ‘यो मोर्चाको आधिकारिक धारणा होइन हामी अविलम्ब बैठक बसेर यस विषयमा आफ्ना धारणा सार्वजनिक गर्नुका साथै संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा विवेकपूर्ण निर्णय लिन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको