
राजविराज । गत वर्ष नगरपालिका घोषित भएका सप्तरीको हनुमाननगर योगिनिमाई नगरपालिकाको मुटु रहेको हनुमानननगर बजारमा नै नगरपालिकाको कार्यालयले बजारबाट उत्सर्जन हुने गरेको फोहोर उठाउँन सकिरहेको छैन् ।
विहान पसलेहरुले स्वयं पसल अगाडि गरेको सरसफाईबाट निष्किएको फोहोर पसलेहरुले पसल अगाडि थुपारेको उक्त फोहोर नगरपालिकाले दैनिक रुपमा उठाउँने नगरेको स्थानीय व्यापारीहरुको गुनासो रहेको छ।
बजारको पसल अगाडि फोहोर थुपारिएको देखाउँदै हनुमाननगर–६ का पसले बजरंग साह भन्छन– ‘कहिले काँही नगरपालिकाले फोहोर उठाउँछ नत्र! उक्त फोहोर सडकमा फैलिन्छ ।’
नगरपालिका घोषणा भएपनि नगरको सरसफाईको जिम्मेवारी बोकेको नगरपालिका कार्यालयको उदासिनताप्रति आक्रोश व्यक्त गर्दै हनुमाननगर–६मा पान पसल संचालन गरेका बृद्ध भोला राउत भन्छन्–‘यो नगरपालिका होइन, नरक पालिका हो।’
नगर भित्रको फोहोर व्यवस्थापन त! परै जाओस! नगरपालिका कार्यालयले बजारमा स्वीपर सम्म पर्याप्त नराखेको कारण पसलेहरु नै बजार बढार्नु परेको गुनासो स्थानीय नगरवासीहरुको रहेको छ ।
हनुमाननगर बजारमा किराना पसल संचालन गर्दै आएका लालदेव मंडलले बजार नगरपालिका भएको खुशी लागेतापनि नगरपालिकाको कार्यालयले व्यवस्थापन गर्न नसक्दा नगरपालिकाको बासिन्दा भनाउँनै लाज लाग्ने गरेको बताउँछन् ।
सो सम्बन्धमा हनुमाननगर योगिनिमाई नगरपालिकाका कार्यालय प्रमुख सुरेन्द्र प्रसाद यादव सित सम्पर्क गर्दा आफु भर्खरै सरुवा भई आएको बताउँदै हाल एक मात्र स्वीपर रहेको स्वीकार गर्छन ।
कार्यालय प्रमुख यादवले फोहोर व्यवस्थापनका लागि आवश्यक पर्ने ट्रयाक्टर खरिद प्रक्रियामा रहेको बताउँदै चाडै नै दैनिक रुपमा नगरमा उत्सर्जित फोहोरको संकलन र विसर्जन गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।