आशुतोष आनन्द सिंह
राजिवराज-सप्तरी सदरमुकाम राजविराजमा सरसफाईको अवस्थामा कुनै सुधार आउन सकेको छैन् । सरोकारवालाहरुले पटक–पटक सरसफाई प्रति गम्भिर हुन नगरपालिकालाई भन्दै आएको भएपनि त्यसको प्रभाव भने शुन्य नै छ ।
एकातिर सुँगुर आतंकबाट नगरवासी पहिला देखि नै हैरान छन् भने छाडा पशु चौपायाले गर्दा दैनिक राजविराज आउने जानेलाई विभिन्न किसिमको समस्याहरु झेल्नु परेको छ । रातिको समयमा गजेन्द्र चोक छाडा पशु चौपायाले नै भरि भराउ हुन्छ ।
राजविराजको मुटु मानिने गजेन्द्र चोकमा एउटा चौपाया मरेर दुर्गन्धि भएपनि नगरपालिकाको ध्यान जान सकेन । सो सम्बन्धमा कार्यकारी प्रमुख धीरेन्द्र प्रसाद यादवसंग सम्पर्क गर्दा उनी आफ्नो जिम्मेवारीबाट पन्छिदै सरसफाई मेरो जिम्मेवारी होइन भनेर जवाफ फर्काए ।
उनले भने “मैले सरसफाई इन्चार्ज लक्षमण साहलाई आदेश दिई सकेको छु, फेरि आदेश दिन आवश्यक छैन्, सरसफाई नहुनुमा उहाँको गल्ती छ, उहाँलाई नै सोध्नुस् ।”
नगरपालिकाको ट्याकटर विग्रेको हुनाले सरसफाई गर्न कठिन भएको सरसफाई इन्चार्ज साहले जानकारी दिए ।
साहका अनुसार नगरपालिकामा ट्याकटर चालकको समेत अभाव भएको र गाडी पटक–पटक विग्रिने गरेकोबाट पनि समस्या हुने गरेको छ ।
“मरेको चौपाया हटाउन नगरपालिकामा कर्मचारीको व्यवस्था छ तर ३–४ बर्ष देखि सो पद रिक्त रहेको छ । उक्त पदमा कर्मचारी भर्ना गर्न नगरप्रमुखलाई पटक–पटक जानकारी गराएको भएपनि केही नभएकोले मरेको चौपाया उठाउनमा समस्या भईरहेको छ” साहले भने ।
उनले भाडामा चौपाया उठाउने मानिस ल्याएर काम गनुपर्ने बाध्यता भएकोले मरेको चौपाया समयमै उठाउन अप्ठ्यारो हुने गरेको बताए ।
साहले यसका लागि नगरप्रमुखले चाँडो भन्दा चाँडो कदम चाल्नुपर्नेमा जोड् दिए ।