काठमाडौं \ देशभरका थप १३ जिल्ला अस्पतालहरुमा आगामी फागुन १ गते देखि नै विषेशज्ञ चिकित्सक सहितको आकस्मिक शल्यक्रिया सेवा सञ्चालन हुने भएको छ । अन्य जिल्लाहरुमा पनि फागुनको पहिलो हप्ता भित्रमा सेवा सुरु भइसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।अहिलेसम्म पनि विषेशज्ञ चिकित्सक र आकस्मिक शल्यक्रिया सेवा नभएका सवै जिल्ला अस्पतालहरुमा सेवा सुरु गर्ने निर्णय बुधबार गरिएको मन्त्रालयको चिकित्सा महाशाखाका उपसचिव रामकृष्ण लामिछानेले जानकारी दिए ।

फागुन १ देखि सेवा सुरु हुने अस्पतालहरुमा सर्लाही, धादिङ, रोल्पा, गोर्खा, अर्घाखाँची, उदयपूर, धनकुटा, नवलपरासी, सप्तरीको राजविराज, कञ्चनपुरको महेन्द्रनगर, दाङको तुल्सीपुर, नुवाकोटको त्रिशुली र बाग्लुङको बुर्तिवाङ रहेका छन् ।

विभिन्न स्वास्थ्य प्रतिष्ठानहरु र मेडिकल कलेजहरुसँगको सहकार्यमा सेवा सुरु गर्नेगरी स्वास्थ्य मन्त्री गगनकुमार थापाले मन्त्रीस्तरीय निर्णय गरेर त्यसका लागि आवश्यक व्यवस्था मिलाएका छन् ।

मन्त्रालयको निर्णय अनुसार अवदेखि ती अस्पतालहरुमा विषेशज्ञ चिकित्सक र आवासीय एमडी वा एमएस वा डिएम वा एमसीएच चिकित्सकहरुलाई खटाइने बताइएको छ ।

अस्पतालहरुका लागि आवश्यक उपकरण र वित्तिय श्रोत मन्त्रालयले नै व्यवस्था गरिदिने भएको छ । सेवालाई प्रभावकारी बनाउन तथा श्रोत साधनको व्यवस्थापनका लागि सर्वपक्षीय एक संयन्त्र समेत गठन गर्ने व्यवस्था गरिएको छ ।

मन्त्रालयको यो निर्णयसँगै फागुनको पहिलो हप्ता भित्रमा देशभरका सवै जिल्ला अस्पतालहरुमा चौविसै घण्टा बर्षभरी विषेशज्ञ चिकित्सक सहितको आकस्मीक शल्यक्रिया सेवा संचालन हुने भएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको