बिर्तामोड। संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारले चुनाव घोषणाको रहर पूरा गर्न मात्रै तोकेको स्थानीय तहको निर्वाचन हुनै नसक्ने टिप्पणी गरेका छन् ।

आइतबार झापाको बिर्तामोडमा संघीय प्रेस फोरमले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले प्राविधिक रूपमै असम्भव चुनाव घोषणा गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रहर मात्रै पूरा गरेको टिप्पणी गरे ।

संघीय गठबन्धनको संयोजक समेत रहनु भएका यादवले भने,– ‘संघीय संसद्, प्रदेश संसद्को निर्वाचन सम्पन्न गरेर मात्रै स्थानीय तहको निर्वाचन सम्भव छ । संरचना नै नबनेको स्थानीय तहको निर्वाचन बकवास हो ।’

मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेकाले अब प्रचण्ड सरकार केही दिनमै ढल्ने भन्दै यादवले भने,– ‘हामीले मधेसी मोर्चाका तर्फबाट सरकारलाई दिइएको समर्थान फिर्ता लिइसक्यौं, अब प्रकृया अघि बढाउँछौ ।’

चुनावमा हार हुने डरले चुनाव बहिस्कार गर्न लागेको हो ? भन्ने पत्रकारहरुको जिज्ञासामा यादवले भने,– ‘चुनावमा हार जीत हुन्छ । जित्नेले जनभावनाको सम्मन गरेर सत्ता चलाउने हो । तर, अहिले घोषणा गरिएको चुनावको औचित्य नै छैन । त्यसैले औचित्यहीन चुनाव बारे धेरै नबोलौं ।’

यादवले प्रदेश सरकार बनेपछि उसैले आफ्नो जिम्मेवारी अनुसार स्थानीय तहको संरचना निर्माण गरेर चुनाव गराउने जिकिर गरे । उनले संविधान संशोधनका माध्यमबाट संविधानका त्रुटि सच्याउन सरकार इमानदार नभएको आरोप समेत लगाए ।

राज्यको सबै भन्दा जिम्मेवार र संवेदनशील अङ्ग न्यायपालिकामा राजनीतिक व्यक्तित्वहरुलाई न्यायाधीश नियुक्ति गर्ने, कुटनीतिक नियोगका लागि अयोग्य व्यक्तिहरुलाई राजनीतिक भागवण्डाका आधारमा राजदूत सिफारिस गरेको लगायतका गतिविधिले वर्तमान सरकार आफैले सत्तामा बसिरहने नैतिकता गुमाएको यादवको आरोप थियो ।

पत्रकार सम्मेलनमा यादवसहित फोरम नेपालका केन्द्रीय उपाध्यक्ष रकम चेम्जोङ, लिम्बुवान प्रदेश अध्यक्ष आरसी तुम्बा, उपाध्यक्षहरु देवेन्द्र राई र विश्वदीप लिङ्देनलगायत सहभागी थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको