काठमाडौं-सत्तारुढ दल गठबन्धनको बैठकबाट मधेशी मोर्चा बाहिरिएको छ। कुरा नमिलेपछि मधेशी मोर्चाका नेता एकाएक हिडेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको बैठकमा मोर्चाले आफ्नो पूर्ववर्ती अडान कायमै राखेपछि कुनै सहमति नभएकोले बैठकबाट अल्मलमै सिमित भएको हो ।
मोर्चाका नेता केशव झाले भने,‘खासै निश्कर्ष निस्किएन, उहाँहरुालई संशोधन प्रस्ताव पारित गराउनको लागि अहिले संख्या नपुग्ने भयो, बरु निर्वाचनमा जाऔं भन्नुभएको थियो, हामीले आफ्नो अडान कायमै राख्यौं, संशोधन प्रस्ताव पारित नभएसम्म हामी चुनावमा भाग लिँदैनौं भन्यौं।’
झाले प्रधानमन्त्री दाहालले स्थानीय तहको संख्या बढाईदिने समेत आश्वास दिएको जनाए। उनले भने,‘संविधान संशोधन हुँदैन, हामी निर्वाचनको पक्षमा छैनौं भनेर आफ्नो कुरा राखेको थियौं, उहाँहरु अहिले छलफलमै हुनुहुन्छ।’
अहिले काँग्रेस, माओवादी, राप्रपा र फोरम लोकतान्त्रिकवीच छलफल जारी छ। स्रोतका अनुसार राप्रपा अध्यक्ष कमल थापाले पनि आफ्नो पार्टी यथास्थितिमा संशोधन प्रस्तावको पक्षमा नरहेको जिकिर गरे।
त्यस्तै फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलेपनि केही समय प्रस्तावलाई रोकेर चुनावमा जाऔं भन्ने भनाई राखेका थिए।