राजविराज ।  एमालेको मेची–महाकाली अभियान अवरोध गर्न मधेसी मोर्चाले संघर्षको कार्यक्रम घोषणा गरेको छ ।

अभियानका क्रममा एमालेले सप्तरीमा कार्यक्रम राखेको २३ फागुनमै मोर्चाले चक्काजाम घोषणा गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली मधेस र मधेसीविरोधी भएको मोर्चाको आरोप छ ।

अध्यक्ष ओलीसहितका नेता २३ फागुनमा सप्तरी आउने एमाले सप्तरीले जनाएको छ । तर, मोर्चाले १९ फागुनदेखि नै आन्दोलन घोषणा गरेको छ । सो दिन घर तथा सवारीसाधनमा कालो झन्डा राख्ने मोर्चाको कार्यक्रम छ ।

एमाले सप्तरीले मेची–महाकाली अभियानलाई सफल बनाउन सहयोग गर्न सबैलाई आह्वान गरेको छ । एमाले सप्तरीका सचिव शम्भु यादवले बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेका हुन् ।

संविधान कार्यान्वयन र निर्वाचनका लागि तथा राष्ट्रिय स्वाभिमान र स्वाधीनताका अभियान गरिएको एमालेले जनाएको छ । सचिव यादवले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘अभियानकै क्रममा हाम्रा कार्यकर्तामाथि मधेसी मोर्चाका कार्यकर्ताले गालीगलौज गर्नु अलोकतान्त्रिक चरित्र हो, उक्त कार्यप्रति खेद व्यक्त गर्दै आइन्दा त्यसो नगर्न आग्रह गर्दछौँ ।’

सचिव यादवले सप्तरीमा अभियानको नेतृत्व पार्टी अध्यक्ष ओलीले गर्ने र २३ फागुनमा राजविराज आइपुग्ने जनाए । उनका अनुसार राजविराजमा सभा हुनेछ ।

मधेसी मोर्चा सप्तरीले आफूहरूले कुनै दलविशेषको विरोध नगरेको भन्दै व्यक्तिको विरोध गरेको दाबी गरेको छ । मधेसी मोर्चा तथा फोरम नेपालका अध्यक्ष दिनेश यादवले आफूहरूले एमालेको कार्यक्रमलाई विरोध नगरी मधेसविरोधी रहेका केपी ओलीको विरोध गरेको बताए । ‘कुनै पनि पार्टीले आफ्ना विचार राख्न पाउने लोकतान्त्रिक मन्यता रहेको हुँदा हामी एमालेको सिंगो कार्यक्रमको विरोधमा छैनौँ,’ उनले भने, ‘हामीले व्यक्तिको विरोध गर्न पाउँछौँ, केपी ओली एउटा व्यक्ति हुन्, उनी मधेसीविरोधी भएकाले विरोध गर्नेछौँ ।’

मोर्चा र एमाले कार्यकर्ताबीच झडप
एमाले र मधेसी मोर्चाका कार्यकर्ताबीच बिहीबार साँझ राजविराजमा झडप भएको छ । मेची–महाकाली अभियान प्रचारका लागि एमाले कार्यकर्ताले घरदैलो अभियान गर्दै बजारमा पर्चा वितरण गर्न थालेपछि मोर्चाका कार्यकर्ताले अवरोध गरेका थिए । सोही क्रममा केहीबेर दुवैतर्फ घम्साघम्सी भएको थियो ।

पछि मोर्चाका कार्यकर्ताको संख्या बढेपछि एमाले कार्यकर्ता राजविराज रंगशालास्थित सम्पर्क कार्यालय फर्किएका थिए । दुवैतर्फ क्षति हुन नदिन सप्तरी प्रहरीले एमाले सप्तरीको सम्पर्क कार्यालयमा व्यापक सुरक्षाकर्मी परिचालन गरेको छ ।

एमालेको मेची–महाकाली अभियानलाई सफल बनाउन एमाले सचिव योगेश भट्टराई बिहीबार सप्तरी आइपुगेका छन् । उनले मधेसी मोर्चाको चक्काजाम तोडेर एमालेको अभियान निस्कने बताए ।

बिहीबार सप्तरीको कञ्चनपुरमा भएको सभालाई सम्बोधन गर्दै सचिव भट्टराईले भने, ‘एमालेको कार्यक्रमलाई लक्षित गरी आह्वान गरिएको मोर्चाको चक्काजाम खेदजनक हो, कुनै पनि अवरोधले एमालेको अभियान रोकिनेवाला छैन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको