काठमाडौँ । गृहमन्त्रालयले सप्तरी गोलीकाण्डपछि नेपाल प्रहरीका एसपी अनुराग द्धवेदी र सशस्त्र प्रहरीका एसपी रामआधार यादवलाई नयाँ सुरक्षा प्रमुखका रुपमा पठाएको छ ।
एसपी द्धवेदी मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौँडामा कार्यरत थिए भने सशस्त्रका एसपी यादव बराह बाहिनी पकलीबाट पठाइएका हुन् ।
गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीका अनुसार जिम्मेवारी निर्वाह गर्न नसकेको भन्दै त्यहाँ कार्यरत सुरक्षा अधिकारीलाई फिर्ता बोलाएर नयाँ सुरक्षा अधिकारीकारुपमा उनीहरुलाई त्यहाँ पठाइएको हो ।
गृहमन्त्रालयले मंगलबार नेपाल प्रहरीका एसपी दिवेश लोहनी, डिएसपी दानबहादुर कार्की, सशस्त्रका एसपी र प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सिनालाई गृहमा तानेको थियो ।
मंगलबार बिहान गृहमन्त्री विमलेन्द्र निधिले सप्तरीको गोलीकाण्डबारे छलफल गर्न नेपाल प्रहरीका कामू महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलिपकुमार रेग्मीसहितको उच्च सुरक्षा बैठक डाकेका थिए ।
नयाँ प्रजिअको पनि गृहले टुंगो गरिसकेको छैन ।
–