काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको विदाई भएको छ । विदाई कार्यक्रममा प्रधानमन्त्री दाहालले राजनीतिक नेतृत्व आउने जाने क्रम जारी रहने बताउँदै मुख्य सचिव, सचिव तथा प्रधानमन्त्री कार्यालयका कर्मचारीहरुलाई आफूलाई फेरि स्वागतको लागि पनि तयार रहन भने ।

कार्यक्रममा मुख्य सचिव, सचिव तथा प्रधानमन्त्री कार्यालयका कर्मचारीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यसो भनेका हुन् ।

राजनीतिक सहमतिलाई पालना गर्ने संस्कार बसाउन आफूले राजीनामा दिएको बताउँदै प्रधानमन्त्री दाहालले भने, ‘तपाईंहरु भनेको स्थायी सरकार हुनुहुन्छ । राजनीतिक नेतृत्व भनेको आउने जाने गरी रहन्छ । अहिले विदाई गर्नुभयो फेरि स्वागतको लागि पनि तयारी गर्दै गर्नुहोला ।’ कार्यक्रममा प्रधानमन्त्री दाहालले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गरेकोमा सबैलाई धन्यवाद दिए ।

आफू प्रधानमन्त्री बन्दा सरकारसामु धेरै प्रश्न तथा चुनौतीहरु तेर्सिए पनि १० महिनाको अवधिमा धेरै प्रगतिहरु हासिल भएको सुनाए । प्रधानमन्त्री दाहालले भने,  ‘तपाईंहरुको सहयोग नभएको भए सम्भव हुने थिएन । यसको लागि सबैलाई धन्यवाद दिन चाहन्छु ।’

प्रधानमन्त्री दाहालले संविधानको स्वीकार्यता बढाउने र कार्यान्वयनमा सरकारले सफलता हासिल गरेको पनि बताए । स्थानीय तहको पहिलो निर्वाचन संविधान कार्यान्वयनको आधारशीला बनेको र यसलाई अब कसैले रोक्न नसक्ने ठोकुवा समेत प्रधानमन्त्रीले गरे ।

प्रधानमन्त्री दाहालले नयाँ व्यवस्थामा चुनौतीहरु आउने भए पनि त्यसलाई सामाना गर्न सबै तयार रहनुपर्ने बताए । आफुले धेरै प्रयत्न गरेपछि सन्तुलनको विदेश नीति आरम्भ भएको समेत प्रधानमन्त्रीको जिकिर छ । प्रधानमन्त्री दाहालले भने,  ‘मोदीजीसँग मैले वान टु कुरा गरेँ । हाम्रोमा कामभन्दा धेरै गफ बढी भयो भनेको थिएँ । कामहरु रोकिएको छ अब त्यसलाई अघि बढाउनु पर्ने कुरा राखेँ ।’ महाकालीमा पूल, हुलाकी मार्ग अब बन्ने सुनिश्चित भएको छ ।

प्रधानमन्त्री दाहालले छिमेकी राष्ट्र चीनको वान् वेल्ट वान् रोडमा हस्ताक्षर गरेर सरकारले सन्तुलित विदेश नीति अपनाएको समेत बताए ।

मुख्य सचिवको प्रशंसा
प्रधानमन्त्रीले सम्बोधनको क्रममा मुख्य सचिव सोमलाल सुवेदीको निकै प्रशंसा गरे । मुख्य सचिव सुवेदीको विज्ञताको कारण कर्मचारी परिचालन गर्न सफल भएको समेत प्रधानमन्त्री दाहालले बताए ।

प्रधानमन्त्रीले कहिलेकाहीँ मुख्य सचिव र मन्त्रीहरुबीच ‘पिटौँ–पिटौँ’ जस्तो स्थिति पनि पैदा हुने कुरा सुनाउँदै आफूले बेलाबेला समन्वयकारी भूमिका खेलेको पनि सुनाए । विदाई कार्यक्रममा प्रधानमन्त्रीलाई कर्मचारीहरुले बुद्धको मुर्ति उपहार दिए । सोमबार विश्व वातावरण विस परेकाले प्रधानमन्त्री दाहालले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यलय परिसरमा वृक्षारोपण समेत गरे ।

दाहालले भने, ‘पृथ्वी र प्रकृति सबैको साझा हो भने मानव समाज प्राकृतिक वातावरणको एक महत्वपूर्ण अङ्ग हो । यिनीहरूको संरक्षण गर्दै वातावरणीय सन्तुलन कायम गर्ने हाम्रो कर्तव्य तथा जिम्मेवारी पनि हो । स्वस्थ एवं स्वच्छ वातावरण सिर्जना गर्न प्रण गर्ने दिन पनि हो । हाम्रो अमूल्य प्राकृतिक स्रोतहरूको संरक्षण गर्दै पृथ्वी र प्रकृतिले धान्नसक्ने क्षमता कायम राख्दै यिनीहरूलाई पुस्तागत हस्तान्तरण गर्नु हामी सबैको साझा दायित्व हो । नेपालको संविधानले हामी सबै नेपालीका लागि स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गरेको छ । नेपाल सरकारले सन्तुलित, दीगो र तीव्र आर्थिक सामाजिक विकासका लागि वातावरणमैत्री नीति तथा प्रविधिको उपयोग र प्रवद्र्धन गर्ने नीति लिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको